Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिजमाविको भ्रष्टाचार मुद्दामा ८ जनाले नै सफाइ पाए 

रुकुम पश्चिमको त्रिभुवन जनता मावि खलंगाको भ्रष्टाचार मुद्दामा ८ जनाले नै सफाइ पाएका छन् । विशेष अदालत काठमाडौँको न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले तत्कालीन प्रधानाध्यापक हरिप्रसाद खनाल, तत्कालीन विव्यस अध्यक्ष खेमराज खड्का र मुसिकोट नगरपालिका शिक्षा शाखा प्रमुख बिनाराम खड्का समेत ८ जना विरुद्धको मुद्दामा सफाइ दिएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार (रकम हिनामिना) को आरोप सहित विशेष अदालत काठमाडौँमा गत वैशाख ९ गते भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । 

अख्तियारले विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष खेमराज खड्का, तत्कालीन प्रधानाध्यापक हरिप्रसाद खनाल, मुसिकोट नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बिनाराम खड्का, विद्यालयका लेखापाल ठगबहादुर बुढाथोकी, कार्यालय सहायक द्वय रमा शाह र गौरी रावत केसी विरुद्ध मुद्दा दायर गरेको थियो । 

त्यस्तै मुसिकोट नगरपालिकाका तत्कालीन सूचना प्रविधि अधिकृत गोपाल ओली र डिजिटल कम्प्युटर एन्ड इलेकट्रोनिक्स वर्ल्ड तुलसीपुर दाङका प्रोप्राइटर शिवप्रसाद श्रेष्ठ विरुद्ध पनि मुद्दा दायर भएको थियो । 

आर्थिक वर्ष २०७८/०७९ मा प्रविधिमैत्री कक्षा कोठा निर्माण तथा व्यवस्थापन कार्यक्रममा खरिद गरिएको भनिएका सामग्रीहरूमध्ये ल्यापटप, स्क्यानर, प्रोजेक्टर, ब्याट्री लगायतका सामग्रीहरू विद्यालयमा आपूर्ति नै नगरी चार लाख ८८ हजार ८ सय ११ रुपैयाँ दुरुपयोग गरिएको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो । 

विद्यालयमा आइसिटीका सामान खरिद गरेपछि उक्त सामानहरू सञ्चालनको लागि तालिम सञ्चालन गर्ने भनी बजेट विनियोजन गरिएकोमा उक्त तालिम सञ्चालन नै नगरी सञ्चालन गरेको भनी झुट्टा विल भरपाई बनाई दुई लाख २० हजार रुपैयाँ भुक्तानी गरी जम्मा सात लाख ८ हजार ८ सय एघार रुपैयाँ पनि हिनामिना गरेको अख्तियारको आरोप पत्रमा उल्लेख थियो । 

त्यस्तै आर्थिक वर्ष २०७७/०७८ र आर्थिक वर्ष २०७८/०७९ मा विद्यालयको आन्तरिक आम्दानी, विद्यार्थीबाट उठाएको शुल्क रकम ५४ हजार ८ सय ८१ रुपैयाँ बैङ्क दाखिला नगरेको, यस्तै आर्थिक वर्ष २०७७/०७८ को बेरुजु फर्छ्यौटको लागि विद्यालयको खाताबाट रकम झिकी फेरी विद्यालयको खातामा रकम जम्मा गरी सोही भौचरको आधारमा बेरुजु फर्छ्यौट बापत २ लाख १२ हजार ६१ रुपैयाँ र बिना उद्देश्य, बिना भौचर विद्यालयको खाताबाट एक लाख रुपैयाँ झिकी हिनामिना गरेको समेत गरी कुल जम्मा १० लाख ७५ हजार ७ सय ५३ रुपैयाँ हिनामिना, हानि नोक्सानी एवं दुरुपयोग गरे गराएको दाबी सहित अख्तियारको मुद्दा दायर गरेको थियो । 

८ जना उपर भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम बिगो रकम दाबी गर्दै विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको थियो । तर उक्त सबै आरोप खारेज गर्दै विशेष अदालतले आठै जनालाई सफाइ दिएको हो । 

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३  १९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update