Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइने, के के कार्यक्रम हुँदै छन् ?

रुकुम पश्चिममा विभिन्न कार्यक्रम गरी संविधान तथा राष्ट्रिय दिवस मनाइने भएको छ । आज जिल्ला समन्वय समितिका उपप्रमुख देवबहादुर विकको अध्यक्षतामा बसेको बैठकले असोज २ र  ३ गते विभिन्न कार्यक्रम गरी जिल्लामा संविधान तथा राष्ट्रिय दिवस मनाउने निर्णय गरेको हो । 

दिवस मनाउन बैठकले जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा मुसिकोट नगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सबै सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रमुख, गैरसरकारी संस्था महासंघ, उद्योग वाणिज्य सङ्घ एवं नेपाल पत्रकार महासङ्घका प्रमुख तथा प्रतिनिधि सदस्य रहेको समिति गठन गरेको छ । 

दिवसको अवसरमा असोज २ र ३ गते जिल्लाका सम्पूर्ण स्थानीय तह, सरकारी तथा गैरसरकारी सङ्घ संस्था र सम्पूर्ण जिल्लावासीले कार्यालय तथा घरको छत, बरन्डा परिसरमा निर्धारित साइजका राष्ट्रिय झन्डा मर्यादापूर्वक राखी सजाउने र साँझ दीप प्रज्वलन गर्ने निर्णय भएको छ । 

यसका अलावा २ दिनमा विभिन्न कार्यक्रम गर्ने निर्णय भएको संविधान दिवस समारोह समितिले जानकारी दिएको छ । समितिका अनुसार दिवसको अवसरमा असोज २ गते बिहान ७ बजे मुसिकोट खलङ्गा बजार क्षेत्रमा सरसफाइ, सोही दिन बिहान ८ः३० बजे जिल्ला अस्पताल सल्लेमा उपचाररत बिरामीलाई फलफूल वितरण र २ गते नै बिहान ७ बजे जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालय परिसरमा सरसफाइ गरिने छ । 

असोज २ गते बिहान ९ बजे जिल्ला अस्पताल सल्लेको परिसरमा वृक्षारोपण, सोही दिन १० बजे अपाङ्गता/फरक क्षमता भएका विद्यार्थीहरूलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण र १० देखि १२ बजेसम्म मावि तह कक्षा ९ देखि १२ सम्मको निबन्ध/वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने निर्णय भएको छ । 

दिवसको मुख्य दिन असोज ३ गते बिहान ७ बजे मुसिकोट खलङ्गामा प्रभात फेरि निकाल्ने र ८ बजे बाल मन्दिर प्राङ्गणमा संविधान तथा राष्ट्रिय दिवस मूल समारोह सञ्चालन गरिने छ । दिवस विशेष कार्यक्रमका लागि विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ संस्थाहरूलाई जिम्मेवारी तोकिएको छ । जिल्लास्थित सबै सरोकारवालाहरूको समन्वयमा दिवस मनाउने निर्णय भएको समितिले जनाएको छ ।

२०७२ असोज ३ गते नेपालको नयाँ संविधान जारी भएको अवसरमा हरेक वर्ष विभिन्न कार्यक्रम गरी देशभरमा संविधान तथा राष्ट्रिय एकता दिवस मनाउने गरिएको छ ।

यस्ता छन् मंगलबार बसेकाे समितिकाे बैठकका निर्णय-

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०८३  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update