भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीका क्रममा बेपत्ता भएका भन्सार कार्यालय रसुवामा कार्यरत नायव सुब्बा रुकुम पश्चिम मुसिकोट २ का हरिबहादुर खड्काको १३ औँ पुण्य तिथिको अवसरमा श्रद्धाञ्जली सभा भएको छ । रुकुमेली सेवा समाजको आयोजनामा आज काठमाडौँको कीर्तिपुरमा श्रद्धाञ्जली सभा भएको हो ।
श्रद्धाञ्जली सभामा काठमाडौँ तथा आसपासका क्षेत्रमा कार्यरत आम रुकुमेली, राष्ट्रसेवक कर्मचारी, समाजसेवी, आफन्त तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमका सहभागीहरूले स्वर्गीय खड्काको व्यक्तित्व, सामाजिक योगदान तथा राष्ट्र सेवामा उहाँले पुर्याउनुभएको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।
कार्यक्रममा रुकुमेली सेवा समाजका संयोजक अधिवक्ता दिनेश खड्का, समाजसेवी हरिशचन्द्र शाह, निजामती कर्मचारी सङ्गठनका महासचिव रामचन्द्र अधिकारी लगायतले शोक मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा रुकुमेली सेवा समाजका सदस्यहरू लोकेन्द्र खनाल, खिमप्रकाश बुढा, रामबहादुर ओली, निजामती कर्मचारी युनियनका सचिव भूपेन्द्र अधिकारी, राष्ट्रसेवक कर्मचारीहरू अमर खत्री, सुवास केसी, गोविन्द बुढाथोकी, रुकुमेली समाज कीर्तिपुरका अध्यक्ष एक्कबहादुर के.सी.लगायत शोकाकुल परिवारजन तथा आफन्तहरूको समेत उपस्थिति रहेको थियो ।
यसैबिच श्रद्धाञ्जली सभाका अवसरमा रुकुमेली सेवा समाजले स्वर्गीय हरिबहादुर खड्काको परिवारलाई समवेदना पत्र सहित १५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । रुकुमेली सेवा समाजका संयोजक अधिवक्ता दिनेश खड्काले उक्त आर्थिक सहयोग तथा समवेदना पत्र शोकाकुल परिवारलाई हस्तान्तरण गर्नुभयो ।
विपद्का कारण परिवारले बेहोर्नुपरेको पीडामा संस्थागत रूपमा साथ र सहयोग गर्ने उद्देश्यले आर्थिक सहयोग गरिएको समाजले जनाएको छ । रसुवा भन्सार कार्यालयमा कार्यरत खड्का भाद्र १० गते आएको विनाशकारी बाढीमा परि बेपत्ता हुनुभएको छ । धेरै दिनसम्म खोजी गर्दा उहाँको अवस्थाबारे जानकारी हुन नसकेपछि परिवारजनले कुशको शव बनाएर अन्त्येष्टि गरिसकेका छन् ।





