Kakhara सबैको खबर सम्पूर्ण खबर
बाल दिवस: बाल कल्याण मावि सोलावाङमा विविध कार्यक्रम सम्पन्न

६२ औँ राष्ट्रिय बाल दिवसको अवसरमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ४ को बाल कल्याण माध्यमिक विद्यालय सोलावाङमा २ दिने विविध प्रतियोगितात्मक तथा खेलकुद कार्यक्रमहरू सम्पन्न भएका छन् । बालापनको रक्षा, बालबालिकाको सुरक्षा भन्ने नाराका साथ विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको विद्यालयले जनाएको छ । 

कार्यक्रममा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो । दिवसको अवसरमा बेलुन फुटाउने प्रतियोगिता, बिस्कुट रेस, गणित दौड, म्युजिकल चेयर, हाजिर जवाफ प्रतियोगिता, कविता प्रतियोगिता, चित्रकला प्रतियोगिता, निबन्ध लेखन प्रतियोगिता र अन्तर माध्यमिक विद्यालय स्तरीय भलिबल प्रतियोगिता सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक लोकबहादुर लोकबहादुर केसीले जानकारी दिनुभयो । 

आयोजित प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी तथा खेलाडीहरूलाई नगद पुरस्कार, प्रमाणपत्र तथा अन्य पुरस्कारहरू विद्यालय व्यवस्थापन समिति अध्यक्ष घमन्डकुमार खड्का, सदस्य शङ्कर शर्मा, प्याब्सन रुकुम पश्चिमका अध्यक्ष विमल शर्मा तथा पूर्व अध्यक्ष होमबहादुर खड्का लगायतले वितरण गर्नुभएको थियो । 

विशेष आकर्षणका रूपमा रहेको अन्तर माध्यमिक विद्यालय स्तरीय भलिबल प्रतियोगितामा जनकल्याण माध्यमिक विद्यालय, काँशपोखरी विजेता तथा बाल कल्याण माध्यमिक विद्यालय, सोलाबाङ उपविजेता बनेका छन् । 

बालबालिकाको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने, सृजनशीलता अभिवृद्धि गर्ने, प्रतिस्पर्धात्मक भावना विकास गर्ने तथा उनीहरूको बालापनलाई अझै रमाइलो र स्मरणीय बनाउने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको प्रअ केसीले जानकारी गराउनुभयो । 

कार्यक्रमलाई सफल बनाउन मुसिकोट नगरपालिका वडा नम्बर ४ ले आर्थिक सहयोग गरेको विद्यालयले जनाएको छ । विद्यालयले आर्थिक सहयोग गर्ने वडा कार्यालय सहित कार्यक्रमको सफलताका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण अतिथि, विद्यालय व्यवस्थापन समिति, शिक्षक–कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गरेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३  १७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update