Kakhara सबैको खबर सम्पूर्ण खबर
यमुनानन्द नमुना माविका विद्यार्थी दुना टपरी बनाउन सिक्दै 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ मा रहको यमुनानन्द नमुना माध्यमिक विद्यालयका विद्यार्थी दुना टपरी निर्माणमा जुटेका छन् । फागुन २ गते अर्थात् सरस्वती पूजालाई लक्षित गर्दै मावि सेरिगाउँका विद्यार्थी दुना टपरी निर्माणमा जुटेका हुन् । सरस्वती पूजामा आउने पाहुनालाई प्रसाद दिन सहज होस भनेर विद्यार्थी शिक्षक मिलेर दुना टपरीमा निर्माणमा जुटेका छन् ।

परम्परागत सीपलाई संस्कारको रूपमा विकास गर्न तथा विद्यार्थीलाई प्रयोगात्मक सीपको विकास गर्न दुना टपरी निर्माण गर्न सिकाउन तालिम आयोजना गरिएको शिक्षिका प्रेमकला बाँठाले बताउनुभयो । उहाँका अनुसार ६ कक्षा देखि १० कक्षासम्मका करिब ५० जना विद्यार्थीलाई दुना टपरी निर्माणको सीप सिकाई रहेको छ ।

दुना टपरी निर्माण गर्न मुसिकोट नगरपालिका ४ बोरागाउँबाट विद्यार्थी र शिक्षक मिलेर सालको पात टिपेर विद्यालयमा ल्याएको र खाली कक्षा तथा हाफ टाइमकाे  बेला विद्यार्थीलाई दुना टपरी निर्माण गर्न लगाएको शिक्षिका बाँठाले बताउनुभयो । छात्रले सिन्का तयार गरेर साथ दिएका छन् भने छात्राले दुना टपरी निर्माण गरिरहेका छन् ।

दुना टपरी निर्माण गर्न प्रशिक्षण दिने सोही विद्यालयका शिक्षिका बाँठासँगै प्रज्वला पुन, सुशीला शर्मा, कल्पना ओली, ममता चन्द र शिक्षक विवेक शर्मा रहनुभएको छ । आइतबारबाट सुरु भएको दुना टपरी निर्माणको काम आगामी मङ्गलवारसम्म सञ्चालन हुने छ । उक्त दिनसम्म करिब एक हजार दुना टपरी निर्माण गर्ने लक्ष्य राखिएको शिक्षिका ममता चन्दले बताउनुभयो ।

बजारमा पाइने सामग्री किनेर पैसा खर्च गर्नुभन्दा स्थानीय स्रोत साधनको प्रयोग गरेर पैसाको बचत गर्नुका साथै विद्यार्थीहरूमा सिप हस्तान्तरण गर्न यसले सहयोग गर्ने शिक्षिका चन्दको विश्वास छ । विद्यालयले प्लास्टिकका सामग्री प्रयोग गर्न छोडेर केही वर्ष यतादेखि दुना टपरीको प्रयोग गर्दै आएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update