
रुकुम पश्चिमको मुसिकोट नगरपालिका २ का नौ जना स्थानीयलाई टोकेर मरेको अवस्थामा फेला परेको कुकुरमा रेबिज पोजेटिभ देखिएको छ । आज बिहान स्थानीयलाई टोकेको बौलाहा कुकुर मुसिकोट ५ टटेलामा मरेको अवस्थामा भेटिएको थियो । उक्त कुकुरमा रेबिज परीक्षण गर्दा पोजेटिभ देखिएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्राविधिक रिमबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कुकुरको टाउको थप परीक्षणका लागि प्रादेशिक प्रयोगशाला सुर्खेत पठाएको छ ।
यसको थप रिपोर्ट केही दिन भित्र आउने पशु प्राविधिक खड्काले जानकारी दिनुभयो । बौलाहा कुकुरले आतङ्क मच्चाएको खबर वडाध्यक्ष दिनेश खड्काले गरेपछि पशु अस्पताल तथा पशु सेवा कार्यालय र मुसिकोट नगर पशु सेवा शाखाबाट टोली खटिएको थियो । कार्यालय प्रमुख शेरबहादुर खड्का, डा. जयन्त महत, प्राविधिक रिमबहादुर खड्का, नगर पशु सेवा शाखा प्रमुख सरस्वती सापकोटा तथा नगर प्रहरी किरण विक र मोहन ओलीको टोली खटिएको थियो ।
डाक्टर तथा पशु प्राविधिक सहितकाे टोलीले मरेको कुकुरमा परीक्षण गर्दा रेबिज पोजेटिभ देखिएको हो । कुकुरले टोकेका व्यक्तिको अवस्था सामान्य रहेको र जिल्ला अस्पतालमा उपचार भएको छ । कुकुरले टोकेका व्यक्तिलाई रेबिज विरुद्धको खोप लगाइएको बताइएको छ । कुकुरले ६ जना पुरुष र तीन महिला सहित नौ जना र एउटा भैँसी तथा दुई वटा कुकुरलाई टोकेको थियो ।