Kakhara सबैको खबर सम्पूर्ण खबर
नातिको जिब्रो काटियो, हजुरआमालाई कुटपिट 

रुकुम पश्चिममा एक युवकको जिब्रो काटिएको छ । जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर १४ को रानागाउँका २२ वर्षीय वीरेन्द्र विकको जिब्रो काटिएको हो । कसले काटेको भनेर भने खुलिनसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यो घटना गत शुक्रवार रातीको हो । वीरेन्द्रकी हजुरआमा ८० बर्सिया थेबि कामी माथि समेत कुटपिट भएको छ । 

हजुरआमा कराएपछि आफू हजुर आमा सुतेको ठाउँमा गएको र त्यहाँ भएका अपरिचित व्यक्तिले आफूलाई घरको झ्यालबाट बाहिर फालेको वीरेन्द्रले बयान दिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो । डिएसपी भट्टराईका अनुसार उनीहरू फरक फरक घरमा सुतिरहेका थिए । झ्यालबाट फालिएपछि भने आफूले केही थाहा नभएको वीरेन्द्रले बताएको उहाँले बताउनुभयो । वीरेन्द्रको जिब्रोको टुप्पो काटिएको र उहाँ बोल्न सक्ने अवस्थामा रहेको उहाँको भनाई छ ।

थेबिले पनि केही व्यक्तिले आफ्नो मुख छोपेको र त्यसपछि आफू बेहोस भएको जवाफ दिएको भट्टराईले बताउनुभयो । उनीहरू को थिए भन्ने वीरेन्द्र र थेबि कोहीले पनि बताउन नसकेको उहाँको भनाई छ । घटना शङ्कास्पद समेत देखिएको उहाँले बताउनुभयो । ‘जिब्रो काट्ने कुरा सामान्य होइन, घटनाको प्रकृति हेर्दा गम्भीर देखिन्छ, वीरेन्द्र र थेविले दिएको बयानका आधारमा भने घटनामा शङ्का गर्ने ठाउँ देखिएका छन्, हामी अनुसन्धानमै छौँ, उहाँले भन्नुभयो ।’ 

घर परिवार र स्थानीयलाई बुझ्दा वीरेन्द्रलाई देउता चढ्ने गरेको र उनले विभिन्न अस्वाभाविक क्रियाकलापहरू देखाउने गरेको समेत खुल्न आएको डिएसपी भट्टराईले बताउनुभयो । जिब्रो कसले काट्यो, कुन औजारको प्रयाग भयो भन्ने लगायतका विषयमा अनुसन्धान चलिरहेको उहाँले जानकारी गराउनुभयो । वीरेन्द्र प्रदेश अस्पताल सुर्खेत कालागाउँमा उपचार पछि घर फर्किसकेको र थेबिको उक्त अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । थेबिकाे मुखमा चोट लागेको बताइएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update