
राप्ती साहित्य परिषद् रुकुम पश्चिमको अध्यक्षतामा पुनः मनलाल ओली निर्वाचित हुनुभएको छ । मुसिकोट खलङ्गामा शनिवार भएको १६ औँ वार्षिकोत्सव तथा पाँचौँ जिल्ला अधिवेशनबाट पुनः ओलीको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरिएको हो ।
आगामी तीन वर्षका लागि केही पुरानै र केही नयाँलाई समेटेर नयाँ कार्यसमिति बनाइएको छ । सबै सर्वसम्मत निर्वाचित भएको बताइएको छ । परिषद्को उपाध्यक्षमा एक्कबहादुर केसी, सचिवमा पुनः ओमबहादुर खत्री, सह सचिवमा सीता बुढा र कोषाध्यक्षमा शशीराम घर्ती रहनुभएको छ ।
सदस्यहरूमा नारायणप्रसाद शर्मा, अनुसा रोका, प्रेमा सेर्पाली र दिलमाया खनाल चयन भएको अध्यक्ष ओलीले जानकारी दिनुभयो । परिषद्ले जिल्लाको साहित्यिक विकासका लागि विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।
रुकुम साहित्यमाला कार्यक्रम र एकल रचना वाचन कार्यक्रम परिषद्ले स्थापनाकाल देखि निरन्तर सञ्चालन गरिरहेको छ । परिषद्ले रेडियो सानीभेरीमा साहित्य माला कार्यक्रम समेत उत्पादन तथा प्रसारण गरिरहेको छ ।।