Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिम महाेत्सवमा औद्योगिक प्रदर्शनी प्रतियोगिता हुने

रुकुम पश्चिममा फागुन १९ र २० गते औद्योगिक प्रदर्शनी प्रतियोगिता हुने भएको छ । मुसिकोट खलङ्गाको बराहटाकुरामा आयोजित रुकुम महोत्सवमा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिमको आयोजनामा प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा जिल्लाभरका १५ उद्यमीहरूले आफूले उत्पादन गरेका वस्तुहरू प्रदर्शनीका लागि राख्ने छन् ।

त्यसका आधारमा उत्कृष्ट उत्पादनलाई छनोट गरेर पुरस्कृत गरिने उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख मानबहादुर खत्रीले जानकारी दिनुभयो । प्रतियोगितामा जिल्लाभरका लघु, घरेलु तथा साना उद्यमीहरू बिच वस्तु तथा सेवाको गुणस्तर, उत्पादित परिमाणका बारेमा आम सर्वसाधारण एवं सरोकारवाला निकायहरूलाई जानकारी गराई उद्योगबाट उत्पादित वस्तुको उपभोगमा वृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उहाँको भनाई छ ।

यो कार्यक्रमबाट स्थानीय उद्योगबाट उत्पादन भएका वस्तुको बजारीकरणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार स्थानीय तहले छनोट गरेर पठाएका उद्यमीहरूले प्रतियोगितामा भाग लिन पाउने छन् । यस प्रतियोगितामा प्रथम हुनेले नगद ३० हजार, दोस्रोले २० हजार र तेस्रो हुनेले १० हजार पुरस्कार पाउने छन् ।

साथै सबै उद्यमीहरूलाई आउने, जाने, बस्ने तथा खानाको व्यवस्था रहेको कार्यालयले जनाएको छ । आज जिल्ला समन्वय समितिको सभा हलमा एक कार्यक्रमको आयोजना गरी कार्यालयले यसबारेमा जानकारी गराएको हो ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update