Kakhara सबैको खबर सम्पूर्ण खबर
चन्द्र खड्का स्मृति छात्रवृत्ति दीपालाई प्रदान

चन्द्र खड्का स्मृति छात्रवृत्ति पुरस्कार रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ९ सिम्लीमा रहेको राप्ती ज्ञानोदय माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्यनरत छात्रा दीपा विकलाई प्रदान गरिएको छ । डिभिजन वन कार्यालयमा आज एक कार्यक्रमको आयोजना गरी दीपालाई छात्रवृत्ति प्रदान गरिएको हो । दुई किस्तामा गरेर ३० हजार रुपैयाँ प्रदान गरिएको रुकुमेली वन प्राविधिक समाजका अध्यक्ष शेरबहादुर परियारले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिलो किस्ता बाफतको रकम १५ हजार असार १ गते प्रदान गरिएको थियो । भने दोस्रो किस्ताको १५ हजार रकम आज प्रदान गरिएको हो । वन प्राविधिक चन्द्र खड्काको स्मृतिमा रुकमेली वन प्राविधिक समाजले स्व. चन्द्र खड्का स्मृति अक्षकोष स्थापना गरेको छ ।

गत वर्षदेखि रुकमेली वन प्राविधिक समाजले ४ लाखको अक्षयकोष स्थापना गरेको र सोही अक्षकोषबाट प्राप्त भएको व्याजबाट हरेक वर्ष जिल्लाका गरिव, जेहेन्दार, असल तथा उत्कृष्टताको आधारमा विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने गरिएकाे वन प्राविधिक समाजका अध्यक्ष परियारले जानकारी दिनुभयो ।

पहिलो वर्ष भएकाले चन्द्र खड्काले अध्ययन गरेको विद्यालयमा अध्यनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हाे । आगामी वर्ष भने अन्य पालिकाका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका वन प्राविधिक चन्द्र खड्काको डिभिजन वन कार्यालय दैलेखमा  काम गर्दागर्दै २०७७ साल असोज १२ गते हृदयघातका कारण निधन भएको थियो । खड्काको सम्झनामा रुकुमेली वन प्राविधिक समाजले अक्षकोष स्थापना गरको जनाएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update