Kakhara सबैको खबर सम्पूर्ण खबर
भूकम्प प्रभावित क्षेत्रमा प्रजनन स्वास्थ्यमा ध्यान दिन जोड 

रुकुम पश्चिमका सरोकारवालाहरूले भूकम्प प्रभावित क्षेत्रमा प्रजनन स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् । नेपाल परिवार नियोजन सङ्घले मुसिकोटमा आयोजना गरेको सरोकारवाला निकायका प्रतिनिधिहरूका लागि विपत्को समयमा प्रजनन स्वास्थ्य सेवाका न्यूनतम आधारभूत स्वास्थ्य सेवा विषयक अभिमुखीकरण कार्यक्रममा सहभागी सरोकारवालाले प्रभावित क्षेत्रमा प्रजनन स्वास्थ्यमा विशेष ध्यान आवश्यक रहेकोमा जोड दिएका हुन ।

कार्यक्रममा बोल्दै भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्र आठबिसकोट नगरपालिकाका प्रमुख रबि केसीले भूकम्पले सृजना गरेको यस विपत्को घडीमा स–साना कुरामा ध्यान जान नसकेको स्वीकार गर्दै त्यसमा प्रजनन स्वास्थ्य समेत एक रहेको बताउनुभयो । ‘हामीले उद्धार, चोटपटकको उपचार देखि भौतिक संरचनामा ध्यान केन्द्रित गर्‍यौँ, साना लाग्ने तर निकै महत्त्वपूर्ण विषयहरूमा ध्यान नपुगेको हो कि जस्तो लागेको छ, त्यसमा प्रजनन स्वास्थ्य पनि पर्छ, अहिले भने हामीले यो लगायत स–साना अन्य कुरामा ध्यान केन्द्रित गरेका छौँ’ उहाँले भन्नुभयो । 

सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर विष्टले पनि तत्कालीन व्यवस्थापनमा लाग्दा दीर्घकालीन रूपमा प्रभाव पार्ने पक्षमा ध्यान जान नसकेको स्वीकार गर्नुभयो । सुरुमा अन्यौलता रहेको भए पनि हाल भने विभिन्न निकायसँगको सहकार्यमा प्रजनन स्वास्थ्य तर्फ ध्यान केन्द्रित गरेको उहाँको भनाई छ । नेपाल परिवार नियोजन सङ्घले यसका लागि महत्त्वपूर्ण सहयोग गरेको विष्टले बताउनुभयो । 

कार्यक्रमका प्रमुख अतिथि मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसीले मुसिकोटमा मानवीय क्षति नभएकोले सबैको उपेक्षामा परेको भन्दै मुसिकोट पनि भूकम्पबाट प्रभावित रहेको बताउनुभयो । विभिन्न सरोकारवाला निकायको ध्यान मुसिकोटमा पर्न नसकेको बताउँदै नगर प्रमुख केसीले नेपाल परिवार नियोजन सङ्घलाई मुसिकोटमा पनि प्रजनन स्वास्थ्य सम्बन्धी गतिविधिहरू सञ्चालन गर्न अनुरोध गर्नुभएको थियो । नगरपालिका सबै सरोकारवाला निकायको साथमा अगाडी बढ्न चाहिरहेको उहाँको भनाई थियो ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले विपत्का बेलामा केही सङ्घ संस्थाहरू विभिन्न स्वार्थ बोकेर आइरहेको समेत पाइएकोले निस्वार्थ सेवा भावका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो । विपत्का कारण यौन हिंसाका घटना हुनसक्ने र विभिन्न प्रजनन स्वास्थ्य सम्बन्धी समस्याहरू बढी देखिन सक्ने जोखिम रहेकोले यस तर्फ सबै निकायहरूले हातेमालो गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा जिल्लाका आठबिसकोट, सानीभेरी र मुसिकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखहरूले भूकम्प पश्चात् स्वास्थ्य सेवा प्रवाहको अवस्था, जटिलता र हालसम्मको अनुभव साटेका थिए । 

त्यस्तै कार्यक्रममा नेपाल परिवार नियोजन सङ्घले रुकुम पश्चिम र जाजरकोटका भूकम्प प्रभावित क्षेत्रमा सञ्चालन गरेको प्रजनन स्वास्थ्य सम्बन्धी शिविर र सामुदायिक स्वास्थ्य सचेतना कार्यक्रमका बारेमा जानकारी गराइएको थियो । यसबारेमा नेपाल परिवार नियोजन सङ्घका अनुगमन तथा मूल्याङ्कन प्रबन्धक चेतराज जोशी तथा परियोजना प्रमुख डाक्टर ओम महर्जनले जानकारी गराउनुभएको थियो । 

नेपाल परिवार नियोजन सङ्घले भूकम्पपछि रुकुम पश्चिम र जाजरकोटका विभिन्न ठाउँमा प्रजनन स्वास्थ्य शिविर र सामुदायिक सचेतना कार्यक्रम सञ्चालन गरेको थियो । यसबाट दुवै जिल्लामा गरी कुल सात हजार तीन सयले सेवा लिएका थिए । सामुदायिक सचेतना कार्यक्रमबाट सेवा लिनेको सङ्ख्या अझ धेरै रहेको नेपाल परिवार नियोजन सङ्घ दाङका प्रमुख वसन्त खनालले जानकारी दिनुभयो । उहाँका अनुसार यो कार्यक्रमका लागि ८१ लाख बजेट रहेकामा करिब ६५ लाख खर्च भएको छ ।  

जिल्ला समन्वय उप प्रमुख देवबहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा मुसिकोट नगर प्रमुख महेन्द्र केसीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा आठबीसकोट नगर प्रमुख रवि केसी, सानीभेरी गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्ट, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाल लगायतको आतिथ्यता रहेको थियो ।। 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update