
रुकुम पश्चिममा भोलीदेखि कोरोना विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । भोलीदेखि आगामी फागुन २४ गतेसम्म जिल्लामा कोरोना विरुद्धको बुस्टर डोज खोप अभियान सञ्चालन हुन लागेको हो । जिल्लाका छ वटा स्थानीय तह मध्ये चार वटा स्थानीय तहमा बुस्टर डोज खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय रुकुम पश्चिमका खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार मुसिकोट र चौरजहारी नगरपालिकामा गत असोजमै खोप लगाइसकिएको छ । भने बाँकी चार स्थानीय तह सानीभेरी, बाँफिकोट, त्रिवेणी गाउँपालिका तथा आठबीसकोट नगरपालिकामा भोली देखि आगामी फागुन २४ गतेसम्म कोरोना विद्धको खोप अभियान सञ्चालन हुने खोप सुपरभाइजर अधिकृत खड्काले जानकारी दिनुभयो ।
जिल्लाका चार वटा स्थानीय तहका लागि स्वास्थ्य सेवा कार्यालयमा दुई हजार दुई सय ९० डोज खोप आइसकेको छ । खोप १२ वर्ष भन्दा माथिका व्यक्तिहरूलाई लगाइने छ । त्यसका साथै पहिले कोरोना विरुद्धको खोप लगाउन छुटेका व्यक्तिहरूले पनि खोप लगाउन पाउने छन् । कोभिड खोप अनुगमन तथा व्यवस्थापन समितिको बैठकले यसबारेमा गत बिहीबार नै निर्णय गरिसकेको छ ।
भोली देखि सञ्चालन हुने कोरोना विरुद्धको खोप अभियानमा स्वास्थ्य सेवा कार्यालयले सम्बन्धित स्थानीय तहका स्वास्थ्य सेवा शाखा, स्वास्थ्य संयमसेविकासँग समन्वय गरेर खोप लगाउने गरी तयारी भएको जनाएको छ ।