लोकल कुखुराको झोल, गहुँको रोटी । खाएर त हुनुहोस् एक चोटि । यो नारा हो रुकुम महोत्सवमा राखिएको अर्ग्यानिक खाजा घरको । रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोट नगरपालिका १ बराहटाकुरामा ‘रुकुम कृषि, व्यापार तथा सांस्कृतिक महोत्सव’ गत शुक्रवार देखी जारी छ । महोत्सव आयोजक उद्योग वाणिज्य सङ्घ रुकुम पश्चिम र सह आयोजक कला संस्कृति, पर्यटन प्रवर्द्धन मञ्चले उद्घोष गरे अनुसार महोत्सवमा अर्ग्यानिक खाजा घरले गाउँघरमा उत्पादन हुने वस्तुका परिकार तयार गरेर बिक्री वितरण गरिरहेको छ ।
शारदा जलजला कृषि फर्म र गाउँ बेसी खाजा घरले संयुक्त रूपमा अर्ग्यानिक खाजा घर सञ्चालन गरेर महोत्सवमा आउने पाहुनाहरूलाई अर्ग्यानिक परिकार खाजाको रूपमा खुवाइरहेका छन् । अर्ग्यानिक खाजा घरमा स्थानीय स्तरमा उत्पादन हुने गहुँको रोटी, मकैको रोटी, मकैको ढिँडो, कोदाको सेल, सिस्नो, कालिजको मासु, लोकल कुखुराको मासु खाजा तथा खानाको रूपमा विक्री गरिरहेको अर्ग्यानिक खाजा घरका सञ्चालक गणेश खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार अर्ग्यानिक खाजा घरमा खाजाका सबै परिकार स्थानीय स्तरमा उत्पादन भएका वस्तुको मात्र रहेका छन् ।
बिक्रीका लागि राखिएका गहुँ र काेदाकाे सेल ।
शारदा जलजला कृषि फर्मका सञ्चालक खड्का र गाउँ बेसी खाजा खरका सञ्चालक टिकाराम रावतले अर्ग्यानिक खाजा घरबाट महोत्सवमा आउने पाहुनाहरूलाई सेवा दिइरहनु भएको छ । गहुँको रोटी र लोकल कुखुराको मासु तीन सय ५० रुपैयाँ, कालिजको मासु रोटी चार सय, कोदोको सेल हेरेर २५ देखि ५० रुपैयाँ सम्ममा खुवाउने गरिएको छ । त्यस्तै सिस्नो ढिँडो दुई सय ५०, दुई वटा रोटी सिस्नोको एक सय ५०, चार वटा रोटी सिस्नो दुई सय ५० रुपैयाँमा खुवाउने गरिएको अर्ग्यानिक खाजा घरका सञ्चालक खड्काले जानकारी दिनुभयो ।
महोत्सवमा जति सक्यो अर्ग्यानिक उत्पादन विक्री गर्ने र पाहुनालाई अर्ग्यानिक वस्तु खुवाउने अर्ग्यानिक खाजा घरको लक्ष्य छ । यसका साथै खड्काले आफ्नै फार्ममा पालेका जिउँदो कालिज पनि महोत्सवबाटै विक्री गरिरहनुभएको छ । भालेलाई तीन हजार र पोथीलाई दुई हजार पाँच सय र जोडी कालिजलाई पाँच हजारमा विक्री गर्ने गरेको उहाँले बताउनुभयो । महोत्सव अवधिभर कालिज राम्रो खपत हुने उहाँको विश्वास छ ।
![WhatsApp Image 2024-03-03 at 16.56.23_d7c6adc71709622461.jpg](https://www.kakhara.com/uploads/posts/WhatsApp Image 2024-03-03 at 16.56.23_d7c6adc71709622461.jpg)
महोत्सवको आयोजक समेत रहेको उद्योग वाणिज्य सङ्घले महोत्सवमा स्थानीय स्तरमा उत्पादन हुने वस्तुको विक्री गर्ने व्यवसायीलाई पेसा प्रति थप हौसला बढाउन सम्मान गर्ने वरिष्ठ उपाध्यक्ष दलबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार स्थानीय स्तरमा उत्पादन हुने वस्तु बजारीकरण गर्न र स्थानीयको आय आर्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।
गत शुक्रवारबाट सुरु भएको महोत्सव आगामी फागुन २८ गतेसम्म सञ्चालन हुने छ । महोत्सवमा स्थानीय स्तरका कलाकार देखि राष्ट्रिय स्तरका कलाकारहरूले प्रस्तुति राखिरहेका छन् ।
काेदाकाे सेल र सिस्नाे ।
![WhatsApp Image 2024-03-03 at 16.56.22_ed6e6fea1709622589.jpg](https://www.kakhara.com/uploads/posts/WhatsApp Image 2024-03-03 at 16.56.22_ed6e6fea1709622589.jpg)