
अखिल नेपाल महिला सङ्घ र महिला मानव अधिकार रक्षक सञ्चाल रुकुम पश्चिमले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री कार्यालय तथा गृह मन्त्रालयमा ज्ञापन पत्र बुझाएका छन् । रुकुम पश्चिमा क्रियाशील महिला अधिकारकर्मीहरूले संयुक्त रूपमा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त मार्फत सरकालाई महिला हिंसा घटना न्यूनीकरण गर्न प्रभावकारी कदम चाल्न र महिला माथि हुने जघन्य अपराधमा संलग्नलाई कारबाही गर्न माग गरेका हुन् ।
अहिले नेपालमा दिनहुँ जसो जघन्य अपराधका घटनाहरू भइरहेका छन्, यस्ता किसिमका शृंखलाबद्ध रूपमा भइरहेका जघन्य अपराधका घटनाहरू र बढ्दो दण्डहीनताले गर्दा लोकतान्त्रिक व्यवस्थामा विश्वास गर्ने सम्पूर्ण नेपालीहरूको शिर झुकेकोले यस्तो हुन नदिन सरकारको ध्यान जानुपर्ने अखिल नेपाल महिला सङ्घका इन्चार्ज व्यूझना पुनले बताउनुभयो ।
यही फागुन १२ गते सार्वजनिक भएको शालीन पोखरेलको शङ्कास्पद हत्याको घटना, या यस अघि भएका निर्मला पन्त, एलिशा तामाङ, सम्झना कामी, भागीरथी भट्ट लगायतको बलात्कारपछि गरिएको हत्या होस् । यी प्रतिनिधि घटनामा मात्रै हैनन् यस्ता किसिमका कैयौँ घटनामा बलात्कारपछि बीभत्स हत्या भएकाले अपराधीलाई पत्ता लगाई हदैसम्मको कारबाही हुनुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
नेपालमा लोकतन्त्र आएको यतिका समय भइसक्दा पनि अजित मिजार, नन्दप्रसाद अधिकारीले न्याय पाउन सकेका छैनन् भने आरती साहजस्ता कैयौँ प्रभावितका परिवारले न्यायका लागि सडकमा रोई कराइ गरिरहनु परेको छ । यस्तो अवस्थामा नागरिकले कसरी सुरक्षित र न्याय पाएको महसुस गर्ने इन्चार्ज पुनले जारी गरेको ज्ञापन पत्रमा भनिएको छ ।
घटना नै नघट्ने वातावरण सिर्जना गर्न र घटना घटेको खण्डमा छिटो र प्रभावकारी न्यायका लागि आवश्यक कदम चाली अपराधीलाई उचित दण्ड, पीडितलाई न्याय र उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने जिल्लामा क्रियाशील महिला अधिकारकर्मीहरूले सरकार समक्ष माग राखेका छन्