
रुकुम पश्चिमको चौरजहारी नगरपालिका ९ गुर्तालगाउँमा एक घरमा आगोलागि भएको छ । आइतबार राती खाना पकाउने चुलोबाट कपडामा आगो सल्किदा गुर्तालगाउँका उदय सार्कीको ढुङ्गाले छाएको दुई तले घर र सँगै रहेको गोठ जलेर पूर्ण रूपमा क्षति भएको हो । आइतबार राती खाना खाएर सुतेको समयमा चुलोबाट हावाले आगो उडाएर कपडामा सल्किदा घर र गोठ जलेर पूर्ण रूपमा क्षति भएको वडा सदस्य सीता नेपालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार घरमा भएका अन्नपात, लत्ता कपडा, जग्गाधनी पुर्जा लगायत घरमा भएका अन्य सामग्री जलेर नष्ट भएका छन् । रातको समयमा आगोलागि भएकाले घर गोठ पूर्ण रूपमा ध्वस्त भएको वडा सदस्य नेपालीले बताउनुभयो । घरमा पालिएका १९ वटा कुखुरा समेत जलेर नष्ट भएका छन् । आगोलागि भएको थाहा पाएपछि परिवार घरबाट बाहिर निस्किएकाले मानवीय क्षति भने नभएको बताएको छ ।