
रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गामा अवस्थित जिल्लाकै जेठो विद्यालय त्रिभुवन जनता माध्यमिक विद्यालय शैक्षिक तथा अन्य क्रियाकलापहरूमा नतिजाका दृष्टिकोणले अब्बल बन्दै गएको छ । गत शैक्षिक आ.ब.०७९/८० मा एसइइको नतिजामा जिल्ला भर ए प्लस जिपिए ल्याउने ८ जना विद्यार्थी मध्ये ए प्लस अर्थात् ग्रेड ३.६१ देखि ४ ल्याउने ५ जना विद्यार्थीहरू यस विद्यालयका हुन् ।
यसै गरी १२ कक्षाको र सिटिभिटी तर्फको सिभिल डिप्लोमा तर्फको नतिजामा सबै विद्यार्थीहरू राम्रो नतिजा ल्याउन सफल भए । त्यसै गरी यसै शैक्षिक सत्रमा सम्पन्न भएको राष्ट्रपति रनिङ शिल्डमा विद्यालयको इतिहासमै ५२ मध्ये २३ स्वर्ण पदक र जिल्ला स्तरीय प्रतियोगितामा नगरपालिकाले २२ स्वर्ण पदक जितेर प्रथम स्थान हात पारेकोमा १५ स्वर्ण त्रिजमाविकै विद्यार्थीले जितेका थिए ।
साथै कर्णाली प्रदेश स्तरको प्रतियोगितामा रुकुम पश्चिमलाई दोस्रो बनाउन पनि यो विद्यालयको महत्त्वपूर्ण भूमिका रह्यो । त्यसै गरी ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित मुसिकोट नगर स्तरीय वक्तृत्वकला प्रतियोगितामा यस विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा प्रशान्ता के.सी.ले प्रथम स्थान हासिल गर्नुभएको छ ।
विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिको प्रयासमा विद्यालयले पछिल्लो समय राम्रो नतिजा निकालिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र केसीले बताउनुभयो । सबैको प्रयासमा विद्यालयले सबै तिर राम्रो गर्दै गइरहेको उहाँको भनाई छ । विद्यालयलाई सबै क्षेत्रमा अब्बल साबित गर्ने गरी प्रयास भइरहेको उहाँले बताउनुभयो ।