Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारीमा तीन जिल्लाका पत्रकारका लागि क्षमता अभिवृद्धि तालिम सुरु

रुकुम पश्चिममा तीन जिल्लाका पत्रकारका लागि क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । मङ्गलवार जिल्लाको चौरजहारी नगरपालिकामा तीन जिल्लाका पत्रकारहरूका लागि क्षमता अभिवृद्धि तालिमका साथै प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण तथा अनलाइन सञ्चारमाध्यम दर्ता सम्बन्धी घुम्ती शिविर सुरु भएको हो ।

क्षमता अभिवृद्धि तालिममा सल्यान, रुकुम र जाजरकोटका पत्रकारहरूको सहभागिता रहेको पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो । उहाँका अनुसार आजबाट सुरु भएको तालिम आगामी चैत १ गतेसम्म सञ्चालन हुने छ । पत्रकार महासंघ रुकुम पश्चिमको सहकार्य तथा सूचना तथा प्रसारण विभागको आयोजनामा तालिम सुरु भएको हो ।

पत्रकारकाे क्षमता अभिवृद्धि गरिनुका साथै प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण तथा अनलाइन सञ्चार माध्यम दर्ता लगायतका सेवा शिविरबाट प्रदान गरिने आयोजकले जनाएको छ । पत्रकार महासंघ रुकुमका अध्यक्ष लक्ष्मण केसीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सूचना तथा प्रसारण विभागका महानिर्देशक शङ्कर नेपालको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै निर्देशक भरत गौतम, रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, चौरजहारी नगरपालिका उप प्रमुख ईश्वरी बिएम, प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकाल, प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराई,  तीन वटै जिल्लाका पत्रकारहरू लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पत्रकार महासङ्घका जिल्ला सह सचिव नारायण ओलीले गर्नुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update