
बस दुर्घटना परी ज्यान गुमाएका रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ का पत्रकार बिक्रम परियारको घर परिवारलाई सहयोग गरिएको छ । पत्रकार परियारको परिवारलाई नगद र खाद्यन्न सहयोग सहयोग गरिएको हो । नेकपा माओवादी केन्द्रको जन वर्गीय संगठन प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति रुकुम पूर्व, अनेरास्ववियु क्रान्तिकारी र योङ कम्यूनिष्ट लिग वाइसियल रुकुम पूर्वले सयुक्त रुपमा सहयोग गरेका हुन् । बुधबार पार्टीको जन वर्गिय संगठनले गरेको निर्णय अनुसार सहयोग गरिएको प्रेस सेन्टर नेपाल रुकुम पूर्वकी अध्यक्ष सर्जना कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार थोरै भए पनि घरपरिवारलाई राहत होस भन्ने उद्देश्यले सहयोग गरिएको हो । क्रिया खर्चको लागि ३० हजार चार सय ५५ रुपैयाँ बराबरको खाद्यान्न र नगद २५ हजार रुपैयाँ पत्रकार परियारको परिवारलाई सहयोग गरिएको हो । एक सय ७५ किलो चामल, १५ किलो दाल, २० लिटर तेल, दश किलो नुन, पाँच वटा भाडा धुने साबुन, एक दर्जन मिट मसला र एक किलो जिरा लगाएत फलफुल सहयोग गरिएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
मृतक पत्रकार परियारको घरमै पुगेर राहत सहयोग गरिएको हो । अनेरास्ववियु क्रान्तिकारी जिल्ला इचार्ज जीवन केसी लगाएतको टोलीले मृतककी आमा रश्मी नेपालीलाई सहयोग हस्तान्तरण गरेको हो । २३ वर्षीय पत्रकार बिक्रम सहित नौ जनाको चैत्र ५ गते रुकुम पश्चिम बाट काठमाडौँ लागि छुटेको बागमती प्रदेश ०१००६ ख ३८७९ नम्बरको बस बागुलङ जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर ६ जाउलेपानीमा दुर्घटना हुँदा निधन भएको थियो ।