Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रभु बैंकको एक करोड ३१ लाख हिनामिना गर्ने शाह पक्राउ 
पक्राउ परेका निरजबिक्रम शाह

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ९ मा रहेको  प्रभू बैंकको १ करोड ३१ लाख २५ हजार  रकम हिनामिना गर्ने  आठबीसकोट नगरपालिका ११ राडीका ३१ वर्षीय निरजविक्रम शाहलाई प्रहरीले  पक्राउ गरेको छ । आठबीसकोट नगरपालिका ९ राडीमा रहेको प्रभु बैकंका अप्रेशन इन्चार्ज समेत रहेका शाहलाई हिजो विहान बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १४ जमुनाहबाट प्रकाउ गरी आज सार्वजनिक गरिएको हो ।  फरार रहेका शाहलाई  बैंकिङ कसूर मुद्दामा पक्राउ गरिएको पत्रकार सम्मेलन मार्फत प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो ।


उहाँका अनुुसार  शाहले बैंकमा कार्यरत रहदाको समयमा माघ ०७ गते, १७ गते र १९ गते आठबीसकोट नगरपालिकाको प्रभु बैंक लिमिटेडकोे शाखा कार्यालयमा रहेको खाताबाट कानून प्रतिकुल कार्य गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ५ विपरित आठबिसकोट नगरपालिकाको खाताबाट चेक नम्बर ००४४२१३७२३, २०४४२१३७२४ र ००४४२१३७२१ बाट  पटक पटक गरेर २९ लाख, ७८ लाख ७५ हजार र २३ लाख ५० हजार रुपैयाँ गरी जम्मा १ करोड ३१  लाख  २५ हजार रुपैयाँ अनाधिकृत  रुपमा अपचलन तथा दुरुपयोग  गरेर फरार रहेका थिए । 


शाहलाई पक्राउ गर्नको लागि उच्च अदालत सुर्खेतबाट फागुन १२ गते पक्राउ अनुमती जारी भई आएकोमा प्रहरी निरीक्षक धर्मेन्द्र खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय बाँकेसँग समन्वय गरी हिजो पक्राउ गरेको हो  । सोही दिनबाट उच्च अदालत वीरेन्द्रनगर सुर्खेतबाट पहिलो पटक दिन ७  को म्याद थप गरी  शाहलाई  हिरासत कक्षमा  राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भट्टराईले जानकारी दिनुभयो ।  

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update