Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका सरोकारवालाद्वारा जिम्मेवार पत्रकारितामा जोड  
नेपाल पत्रकार महासङ्घको ६९ औँ स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले सदरमुकाम मुसिकोटमा आयोजना गरेको कार्यक्रममा उपस्थित सरोकारवालाहरू .

रुकुम पश्चिमका सरोकारवालाहरूले जिम्मेवार पत्रकारितामा जोड दिएका छन् । राज्यको चौथो अङ्गका रूपमा चिनिएको पत्रकारिता क्षेत्र जिम्मेवार बनेमा मात्र समाज सही रूपमा अघि बढ्ने सरोकारवालाहरूले बताएका छन् । 

नेपाल पत्रकार महासङ्घको ६९ औँ स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले सदरमुकाम मुसिकोटमा आयोजना गरेको कार्यक्रममा उपस्थित सरोकारवालाहरूले हरेक क्षेत्रमा पत्रकारको निगरानी आवश्यक रहेकामा जोड दिएका हुन् । पत्रकारको सही निगरानीले मात्र सुशासन र विधिको शासन कायम हुने उनीहरूको भनाई थियो । 

जिल्ला न्यायाधीश रामप्रसाद बस्यालले पत्रकारले वाच डकको भूमिकालाई अझै बढाउनुपर्ने बताउनुभयो । साथै उहाँले न्याय सम्पादनका विषयमा पत्रकारहरूले समाजलाई सुसूचित गर्न आवश्यक रहेको बताउनुभयो । न्याय सम्पादनको प्रक्रियाका बारेमा जानकारी नहुँदा अन्यौलता देखिएको बताउँदै उहाँले यसमा भूमिका खेल्न पत्रकारहरूलाई आग्रह समेत गर्नुभयो । 

जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख देवबहादुर विकले पत्रकार र मिडियाले समाजमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो । विकास निर्माण, अनियमितता देखि सेवा प्रवाहका सम्बन्धमा पत्रकारले कलम चलाएर समाजमा योगदान गरिरहेको उहाँको भनाई थियो । 

मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले पत्रकारको क्षमता विकास र मिडियाको संस्थागत विकासका लागि मुसिकोट नगरपालिकाले ध्यान दिएको बताउनुभयो । आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले पनि मिडिया र पत्रकारको हितका लागि आफ्नो पालिका गम्भीर रहेको बताउनुभयो ।   

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले पत्रकार समयानुकुल अपडेट हुँदै जानुपर्ने सुझाव राख्नुभएको थियो । समय परिवर्तनशील रहेको र मिडियाको स्वरूप पनि सोही अनुसार परिवर्तन भइरहेकोले पत्रकारहरू दिन प्रति दिन अपडेट हुँदै जानुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न पत्रकार सङ्घ सङ्गठनका प्रमुख तथा प्रतिनिधि, विभिन्न मिडियामा कार्यरत पत्रकार लगायतको सहभागिता रहेको थियो । 

नेपाल पत्रकार महासङ्घका अध्यक्ष लक्ष्मण केसीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गोपाल रेग्मीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन सह सचिव नारायण ओलीले गर्नुभएको थियो । 

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update