
यति विल्डर्सले आफ्नो कम्पनीमा कार्यरत एक मृतक एक्स्काभेटर चालकका परिवारलाई घर बनाइदिएको छ । साइटमा काम गर्ने क्रममा २०७९ साउन ३० गते मुसिकोट २ को रातामाटामा एक्स्काभेटर दुर्घटना हुँदा मृत्यु भएका रसुवाको नौकुन्ड गाउँपालिका ३ का मानबहादुर प्याकुरेलका परिवारलाई कम्पनीले घर बनाइदिएको हो ।
४० वर्षीय प्याकुरेलको भण्डारीकाँडा–डिग्रे–मठ–रातामाटा–राउखेत सडक खण्डमा काम गर्ने क्रममा एक्स्काभेटर सडकबाट खसेर दुर्घटना हुँदा मृत्यु भएको थियो । कम्पनीमा स्थापनाकाल २०७१ साल देखि नै कार्यरत रहेका प्याकुरेलको परिवारलाई क्षतिपूर्ति तथा राहत स्वरूप चितवनको रत्ननगर ९ मा घर निर्माण गरिदिएको कम्पनीका सञ्चालक गोर्खबहादुर केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार करिब ४३ लाखको लागतमा एक तलाको पक्की घर बनाइएको छ । उक्त घर आज हस्तान्तरण समेत गरिएको छ । सञ्चालक केसीले मृतक प्याकुरेलका छोरा आर्यन प्याकुरेललाई हस्तान्तरण घरको साँचो हस्तान्तरण गर्नुभयो । मृतक मानबहादुरले कम्पनीमा पुर्याएको योगदानको कदर गर्दै उहाँको परिवारलाई सकेको सहयोग गरेको उहाँको भनाई छ ।
