
रुकुम पश्चिमको मुसिकोट नगरपालिका ११ र १२ मा पर्ने पितिवाङखोला पुलको ठेक्का सम्झौता तोड्ने तयारी थालिएको छ । सडक डिभिजन कार्यालय चौरजहारीले काममा ढिलाइ भएपछि ठेक्का तोड्ने तयारी गरेको हो । पितिवाङ्ग खोलामा २०७८ वैशाख ७ गतेसम्म पुल निर्माण गर्ने गरी संरक्षण निर्माण सेवा प्रालि चितवन र सडक डिभिजन कार्यालय चौरजहारीबिच २०७६ असार ८ गते कार्य सम्झौता भएको थियो । ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण अहिले पुल निर्माण कार्य अलपत्र अवस्था परेको छ । राप्ती राजमार्ग अन्तर्गत रहेको यो पुल नबन्दा सर्वसाधारणहरूले वर्षौँ देखि सास्ती पाउँदै आएका छन् ।
सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख तेजस्वी शर्माले पितिवाङ खोला पुल सहित अन्य दुई वटा पुलको सम्झौता तोड्ने तयारी थालिएको बताउनुभयो । वर्षौँसम्म निर्माण कार्य अलपत्र परेपछि सडक डिभिजन कार्यालय चौरजहारीले एक सूचना जारी गर्दै ठेक्का किन नतोड्ने भन्दै निर्माण व्यवसायीलाई सोधेको छ । सडक डिभिजन प्रमुख शर्माका अनुसार पितिबाङ पुल सहित सानीभेरी गाउँपालिका २ र ४ जोड्ने सानीभेरी माथिको मेघा पुल र ठुलीभेरी नदी माथिको जाजरकोट रग्दा र रुकुम पश्चिम आठबिसकोट स्यालाखदीको पुलको लागि भएको ठेक्का किन नतोड्ने भनेर सार्वजनिक सूचना जारी गरिएको छ ।
स्यालाखदी र जाजरकोटको रग्दामा भेरी नदी माथिको पुल निर्माणको ठेक्का मृत सञ्जीवनी ग्याल्वा जे.भी. काठमाडौँले पाएको थियो । उक्त पुल निर्माणका लागि २०७३ असार ३१ गते सम्झौता भएको थियो । सानीभेरी गाउँपालिका २ को पुर्तिमकाँडा र वडा नम्बर ४ को गरायला जोड्ने मेघा पुलको काम भने सुरुवात नै गरिएको छैन । २०७१ साल मङ्सिर २ गते सपना सैलुङ जे.भी. ललितपुरले उक्त पुल निर्माणको लागि ठेक्का सम्झौता गरेको थियो । यी तीन वटै योजनाको ठेक्का सम्झौता भएको वर्षौँ बितिसकेको छ ।
डिभिजन प्रमुख शर्माले कार्यालयसँग खरिद सम्झौता गरी तोकिएको समयावधिमा निर्माण कार्य सम्पन्न नगरेको, कार्य सम्पन्न गर्नलाई मौखिक, टेलिफोन तथा पत्राचार गर्दा समेत सम्पर्कमा नआएको, कार्य सन्तोषजनक नदेखिएको र कार्य सम्पन्न गर्न तर्फ कुनै चासो नदेखिएको ठेक्का तोड्ने तयारी भएको बताउनुभयो । तीन वटै निर्माण कम्पनीलाई १५ दिने स्पष्टीकरण सोधिएको छ । शर्माले काम सम्पन्न हुन नसकेको कारण र कार्य सम्पन्न गर्न सक्ने योजना, श्रोत परिचालनको भरपर्दो योजना, कार्य सम्पन्न गर्ने प्रतिबद्धता सहित लिखित स्पष्टीकरणका साथ आधिकारिक व्यक्तिलाई कार्यालयमा आउनु भनिएको छ ।
कार्य सम्पन्न गर्ने तदारुकता नदेखाएमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२८ बमोजिम तीन वटै ठेक्का रद्द गर्ने तयारी कार्यालयको रहेको छ । ठेक्का सम्झौता तोडेर कालोसूचीमा राख्ने, नियमानुसार कार्य सम्पादन जमानत जफत गर्ने, धरौटी बापतको रकम तथा पेस्की रकममा १० प्रतिशत ब्याज जोडेर जफत गर्ने, सम्झौता बमोजिम बाँकी रहेको सम्पूर्ण रकम असुल उपर गरिने सडक डिभिजन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नेकपा सम्मिलित समाजवादी मोर्चा नेपाल रुकुम पश्चिमले पितिवाङ खोला पुल निर्माण कार्य तत्काल सुरु गर्न दबाब सिर्जना गरेको थियो । निर्माण स्थलमा दबाब कार्यक्रम गर्नुका साथै जिल्ला प्रशासन कार्यालय र सडक डिभिजन कार्यालयमा ज्ञापन पत्र बुझाउनुका साथै प्रशासन र सडक डिभिजनमा धर्ना दिएको थियो । कि तत्काल काम सुरु गर, कि ठेक्का रद्द गर भन्दै मोर्चाले दबाब सिर्जना गरेको थियो ।