
गाडी दुर्घटनामा ज्यान गुमाएका रुकुम पूर्वका पत्रकार विक्रम परियारको परिवारलाई नेपाल लाइफ इन्स्योरेन्स मुसिकोट शाखाले मृत्यु हक दाबी रकम वितरण गरेको छ । मुसिकोट शाखा प्रमुख हरि बोहराले परियारकी आमा रस्मा नेपालीलाई मृत्यु हक दाबी रकम हस्तान्तरण गर्नुभएको हो ।
परियारको परिवारलाई १० लाख २२ हजार पाँच सय रुपैयाँ हस्तान्तरण गरिएको नेपाल लाइफ इन्स्योरेन्स मुसिकोट शाखाका कर्मचारी खिमप्रकाश विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार परियारले सुनौलो भविष्य जीवन बिमा कार्यक्रम अन्तर्गत पाँच लाखको जीवन बिमा गर्नुभएको थियो ।
उहाँले एक किस्ता स्वरूप ३४ हजार एक सय ६० रुपैयाँ तिर्नुभएको थियो । परियारको काठमाडौँ जाने क्रममा बागलुङमा भएको बस दुर्घटनामा मृत्यु भएको थियो । नियमानुसार मृत्यु हक दाबी रकम हस्तान्तरण गरिएको विष्टले जानकारी दिनुभयो ।