
रुकुम पश्चिमका एक युवाले नयाँ वर्ष २०८१ को अवसरमा विपन्नलाई स्वास्थ्य बिमा उपहार दिनुभएको छ । मुसिकोट नगरपालिका १ छिङका तुल्सिराम बोहराले नयाँ वर्षको अवसरमा ६ विपन्न परिवारको लागि स्वास्थ्य बिमा गरिदिनुभएको हो ।
व्यक्तिगत रूपमा स्थानीय दर्शन परियार, ओइली दमाई, सीता कामी, पदम कामी, सीता बोहरा र लीला विष्टको परिवारलाई वार्षिक एक/एक लाखको स्वास्थ्य बिमा गरिदिएको बोहराले बताउनुभयो । उनीहरू छिङ तलिगाउँ, माथिगाउँ र मुलखोलाका रहेको उहाँको भनाई छ ।
५/५ जना परिवार सदस्य भएका परिवारका ३० जनाका लागि स्वास्थ्य बिमा गरिदिएको र प्रति परिवार वार्षिक एक लाखका दरले ६ परिवारले ६ लाखसम्मको निःशुल्क उपचार सेवा पाउने बोहराले बताउनुभयो । फजुल खर्चलाई बचाएर नयाँ वर्षमा केही नयाँ गर्ने उद्देश्यले विपन्न परिवारका लागि स्वास्थ्य बिमा गरिदिएको उहाँले बताउनुभयो । बोहरा स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिममा कम्प्युटर अपरेटरका रूपमा कार्यरत हुनुहुन्छ ।