Kakhara सबैको खबर सम्पूर्ण खबर
दुई फरार अभियुक्त रुकुमकोट महोत्सवबाट पक्राउ 
पक्राउ परेका फरार अभियुक्त ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । चोरी र सवारी ज्यान मुद्दा शीर्षकमा फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो । कैद तथा जरिवाना भुक्तान नगरी फरार भएका रुकुम पूर्वको भूमे गाउँपालिकाका दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ । 

पक्राउ पर्नेमा ४ नम्बर वडा घर भई हाल सिस्ने गाउँपालिका वडा नम्बर ६ मा बस्दै आएका १९ वर्षीय नवीन बिक र ८ नम्बर वडाको पाछाबाङका २१ वर्षीय मोहन बिक रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी तथा प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनुभयो । चोरी मुद्दाका फरार नवीनलाई २०८० मङ्सिर १ गते जिल्ला अदालत रुकुम पूर्वले दुई महिना नौ दिन कैद र दश हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

सवारी दुर्घटना गराएर फरार भएका मोहनलाई भने २०७८ फागुन ३ गते दुई वर्ष ११ महिना चार दिन कैद र ३० हजार रुपैयाँ जरिवाना फैसला भएको थियो । खोजतलास गर्ने क्रममा दुवै जनालाई गत चैत्र ३० गते रुकुमकोट महोत्सवबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । उनीहरुलाई प्रहरीले आइतबार सार्वजनिक गरेकाे हाे । 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update