
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ३ मा आगलागीबाट एक वृद्धाको मृत्यु भएको छ । ढारपाखा सामुदायिक वन माथिको भोट्नीगारेबाट फैलिएको आगो नेपाने टोलमा पस्दा ७० बर्सिया बुदी कामीको मृत्यु भएको हो । वनमा लागेको आगो घरमा सल्किएपछि घरमा रहेका सामान निकाल्ने क्रममा उहाँको मृत्यु भएको वडाध्यक्ष तिलवीर केसीले जानकारी दिनुभयो ।
आगलागीबाट बुदी सहित ३ घर जलेर नष्ट भएको उहाँले बताउनुभयो । आज दिउँसो पौने २ बजेतिर ढारपाखा सामुदायिक वनमा लागेको आगो गाउँमा पस्दा नेपाने टोलका बुदी सहित युवराज विक र अनन्ते सार्कीको घर जलेर नष्ट भएको हो । वडाध्यक्षका अनुसार विक र सार्कीको एक तले र कामीको २ तले घर जलेर नष्ट भएको छ ।
आगलागीबाट घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाडावर्तन लगायतका सबै सामग्री जलेर नष्ट भएको वडा अध्यक्ष केसीले जानकारी दिनुभयो । ढारपाखा सामुदायिक वनबाट सुरु भएको आगो अहिले भित्रिखोला सामुदायिक वन, साइकुमारी सामुदायिक वनमा फैलिएको छ । वन समूह र इलाका प्रहरी कार्यालय बाँफिकोट, जनप्रतिनिधि तथा स्थानीयको समूहले वनमा लागेको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको वडा अध्यक्ष केसीले बताउनुभयो । क्षतिको पूर्ण विवरण आइनसकेकाे उहाँको भनाई छ ।