
रुकुम पश्चिममा झाडापखालाका कारण एक किशोरको मृत्यु भएको छ । जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर ३ भलाचौरका १६ वर्षीय किरण ओलीको झाडापखालाका कारण मृत्यु भएको हो । झाडापखालाले च्यापेपछि सोमबार बिहान ८ बजेतिर गाउँपालिका अस्पताल छोटेबगर ल्याइएका किरणको सोमबार बिहानै साढे ८ बजेतिर मृत्यु भएको सानीभेरी गाउँपालिका स्वास्थ्य संयोजक विजयकुमार ओलीले जानकारी दिनुभयो ।
नमुना परीक्षण गर्दा उनमा झाडापखालाको पुष्टि भएको ओलीले बताउनुभयो । किरणलाई अन्तिम अवस्थामा अस्पताल पुर्याइएको उहाँले बताउनुभयो । परिवारका सदस्यसँग बुझ्दा किरणलाई आइतबार साँझ देखि झाडापखालाले च्यापेको थियो । समयमा अस्पताल नपुर्याउँदा उनको ज्यान गएको स्वास्थ्यकर्मीले बताएका छन् ।
आइतबार बिहानैबाट पखाला लागेको र आइतबार साँझ देखि भने बढी च्याप्दा पनि उनलाई अस्पताल ल्याइएको थिएन । अन्तिम अवस्थामा सोमबार बिहान मात्र अस्पताल पुर्याइएको थियो ।