Kakhara सबैको खबर सम्पूर्ण खबर
मिडिया लोकतन्त्रको जग हो: अध्यक्ष बस्नेत 
कार्यक्रममा बाेल्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले देशका विभिन्न परिवर्तनमा मिडियाको अविस्मरणीय भूमिका रहेको बताउनुभएको छ । प्रेस काउन्सिल नेपालको आयोजनामा रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा सञ्चालित आचार संहिता जागरण कार्यक्रममा बोल्दै उहाँले हरेक कालखण्डमा भएका आन्दोलन र परिवर्तनमा मिडियाले नेतृत्वदायी भूमिका खेलेको स्मरण गर्नुभयो । लोकतन्त्र दिवसको सन्दर्भलाई जोड्दै उहाँले मिडिया लोकतन्त्रको जग भएको बताउनुभयो । मिडिया कमजोर भएमा लोकतन्त्र पनि कमजोर बन्दै जाने उहाँको भनाई थियो ।

लोकतन्त्र स्थापनाका लागि नेपालका मिडियाले अतुलनीय योगदान गरेको उहाँले बताउनुभयो । ‘जसरी राजतन्त्र विरोधी आन्दोलन चर्कियो, यसमा मिडियाले अग्र स्थानमा रहेर भूमिका खेल्यो, लोकतन्त्र आउनुमा नेपालका मिडियाको महत्त्वपूर्ण भूमिका छ, उहाँले भन्नुभयो ।’ तर हरेक निर्णायक आन्दोलनमा अग्रणी भूमिका खेल्ने मिडिया उपेक्षामा परेको अध्यक्ष बस्नेतले गुनासो गर्नुभयो । राजनीतिक दल देखि राज्य शक्तिले मिडियाको भूमिकालाई नजरअन्दाज गर्दै गएको भान हुन थालेको उहाँको भनाई छ ।

मिडियाको स्थायित्व, मिडियाकर्मीको क्षमता विकास तथा अन्य व्यवस्थापनमा राज्य शक्ति, राजनीतिक दल तथा सरोकारवालाको ध्यान नजानु दुःखद रहेको उहाँले बताउनुभयो । यसका लागि प्रेस काउन्सिलले भूमिका खेलिरहेको उहाँले स्पष्ट पार्नुभयो । तीनै तहका सरकार तथा सरोकारवाला समक्ष मिडियाको संस्थागत विकास तथा मिडियाकर्मीको व्यवस्थापनका लागि सक्दो भूमिका खेलिरहेको उहाँले बताउनुभयो । साथै पत्रकार आचार संहिताका विषयमा प्रेस काउन्सिल गम्भीर रहेको पनि उहाँले बताउनुभयो । पत्रकारहरू आचारसंहितामा रहे भने समाजमा पत्रकारिताको महत्त्व अझ बढ्दै जाने भएकोले यसमा ध्यान दिन उहाँले सबै पत्रकारलाई आग्रह गर्नुभयो । 

त्यस्तै प्रेस काउन्सिलका बोर्ड सदस्य ठाकुर बेलवासेले पत्रकारले क्षमता विकास नगरेसम्म मिडिया सशक्त बन्न नसक्ने बताउनुभयो । यसका लागि आचारसंहिताको पूर्ण पालना पहिलो सर्त भएको बताउँदै उहाँले आचारसंहिताले पत्रकारको विश्वसनीयता बढाउनुका साथै पत्रकारलाई थप निखार्ने उहाँको भनाई छ । साथै उहाँले युट्युब लगायतका न्यु मिडियालाई पनि पत्रकारले आत्मसाथ गर्दै सँगसँगै अगाडी लैजानुपर्नेमा जोड दिनुभयो । कुनै पनि माध्यम आफैमा खराब नहुने भएकोले त्यसको प्रयोगमा ध्यान दिन सकियो भने फाइदा लिन सकिने उहाँको भनाई थियो । 

435833181_382274591462280_3876798957403770320_n-1713878170.jpg
कार्यक्रममा बाेल्दै प्रेस काउन्सिल नेपालका बाेर्ड सदस्य ठाकुर बेलवासे ।

नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका उपाध्यक्ष गोपाल रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा काउन्सिलका बोर्ड सदस्य ठाकुर बेलवासे, शाखा अधिकृतद्धय महेन्द्रराज सिंह र विष्णु लम्साल, जिल्लास्थित पत्रकारका सङ्गठन सङ्गठनका प्रमुख लगायतको आतिथ्यता रहेको थियो । महासङ्घका सदस्य परिचन्द्र खत्रीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सह सचिव नारायण ओलीले गर्नुभएको थियो ।

कार्यक्रममा पत्रकार आचार संहिता र प्रेस काउन्सिलले गरिरहेका कामका बारेमा छलफल तथा जानकारी गराइएको थियो । काउन्सिलको मिडिया विकास कोष मार्फत यो कार्यक्रम सञ्चालन गरिएको हो । कोष मार्फत जिल्लास्थित सञ्चार माध्यमलाई इन्टरनेट सेवाका लागि सहयोग गरिएको छ । भूकम्प प्रभावित जिल्लालाई लक्षित गरेर यो कार्यक्रम आयोजना गरिएको प्रेस काउन्सिल नेपालले जनाएको छ । यो कार्यक्रमका लागि पत्रकार महासंघ रुकुम पश्चिमले समन्वय गरेको थियो । 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update