
संयुक्त राष्ट्र सङ्घीय बाल कोष (युनिसेफ) नेपालले रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका भूकम्प प्रभावित विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गरेको छ । युनिसेफले मङ्गलवार एक कार्यक्रमका बिच गाउँपालिकाका सबै ४५ वटा विद्यालयका कक्षा १–३ सम्मका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको हो । गाउँपालिका भरका एक हजार नौ सय ६६ बालबालिकालाई करिब ५० लाख बराबरका शैक्षिक सामग्री सहयोग गरिएको बताइएको छ ।
युनिसेफको आर्थिक सहयोग, रुकुमेली समाज विकास केन्द्रको सहजिकरण र सानीभेरी गाउँपालिकाको समन्वयमा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थीलाई झोला, खेलकुदका सामग्री, कापी, कलम, किताब लगायतका शैक्षिक सामग्री प्रदान गरिएको हो । भूकम्प प्रभावित बालबालिकाकाे सिकाई क्रियाकलापमा सहज हाेस भनेर पालिकाले गरेकाे अनुराेधका आधारमा शैक्षिक सामग्री वितरण गरिएको बताइएको छ ।
सबै विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दा करिब ५० लाख खर्च भएको कार्यकारी निर्देशक ओलीले बताउनुभयो । मङ्गलवार सानीभेरी गाउँपालिका वडा नम्बर १ को चाइनाबगरमा अवस्थित भेरी दोभान माविको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी गाउँपालिका भरी कक्षा १–३ का सबै विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमला रोका, युनिसेफ नेपाल फिल्ड अफिस नेपालगन्जका शिक्षा अधिकृत फर्सुराम पन्थ, गाउँपालिका शिक्षा शाखा प्रमुख भूपालसिंह विष्ट, युनिसेफका एम.एन.ई. अफिसर वन्दना अटल, युनिसेफका कन्सल्टेन्ट सुरेन्द्र काफ्ले, प्रोग्राम एसोसियट शशीकला श्रेष्ठ, रुकुमेली समाज विकास केन्द्रका कार्यकारी अधिकृत नरेन्द्र ओली, शिक्षा कार्यक्रम संयोजक रमेश गौतम, विव्यस अध्यक्ष, शिक्षक लगायतको उपस्थिति रहेको थियो ।