
रुकुम पश्चिमको चौरजहारी नगरपालिका १४ नाउलीका एक वृद्ध बेपत्ता भएका छन् । ७५ वर्षीय कर्णबहादुर पुन बेपत्ता हुनु भएको हो । पारिवारिक स्रोतका अनुसार पुन मानसिक रोगी पनि हुनुहुन्थ्यो । वैशाख ९ गते बिहान ७ः३० बजे चौरजहारी बजार जाने भनेर नगर बसमा चढेका पुन सम्पर्क विहीन हुनु भएको हो । कर्णबहादुरका छोरा गणेश पुनले नगर बस चढेर चौरजहारी जाने भनेर निस्किएका बुवा सम्पर्कमा नरहेको बताउनुभयो । सबैतिर खोजी गर्दा पनि बुवाका बारेमा कुनै जानकारी नभएको उहाँले बताउनुभयो ।
बसका सह चालकलाई सोध्दा चौरजहारी बसपार्कमा झरेको र भाडा माग्दा आफूसँग नभएको जवाफ दिएको बताएको छोरा गणेशले बताउनुभयो । कतिपयले कर्णबहादुरलाई भोलिपल्ट १० गते चौरजहारी नगरपालिका १० खोलागाउँमा पैदल हिडिरहेकाे देखेको र वडा नम्बर १३ रातामाटासम्म पनि पुगेको त्यहाँका केही स्थानीयले देखेको बताएको पारिवारिक स्रोतले बताएको छ ।
ढाका टोपी, रबरका काला जुत्ता, ट्रयाक र ज्याकेट जस्तो सुइटर तथा हाफ टी-सर्ट लगाएका आफ्ना बुवालाई कतै फेला पारेमा नजिकको प्रहरी तथा आफूहरूलाई जानकारी गराउन छोरा गणेशले सबैमा अनुरोध गर्नुभएको छ । परिवारलाई ९८६६९१९८७५ र ९७६९७७९४०० मा सम्पर्क गर्न सकिने छ ।