रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ८ ले महिलालाई आत्मनिर्भर तथा स्वरोजगार बनाउन सामूहिक तरकारी खेतीमा जोड दिएको छ । वडामा रहेका महिलालाई विभिन्न छ वटा समूहमा विभाजन गरेर वडाले तरकारी खेती उत्पादनमा जोड दिएको हो । हाल वडामा निर्माण गरिएका ६ वटा आमा समूह मध्ये ३ वटा समूहले व्यावसायिक रूपमा तरकारी उत्पादन गरिरहेको वडा अध्यक्ष शशीराम विकले जानकारी दिनुभयो । उहाँका अनुसार ३ वटा आमा समूहले वडा नम्बर ८ कै सेरा भन्ने ठाउँमा ६ रोपनी जग्गा भाडामा लिएर तरकारी उत्पादन गरिरहेका छन् ।
सेरामा उत्पादित प्याज, आलु विक्री भइसकेको छ । भने नर्सरीमा खुर्सानी, गोलभेडा, भिण्डी, फर्सीको बिरुवा उत्पादन भइरहेका छन् । यस पटक भाडाको जग्गामा समूहले ३० क्विन्टल प्याज र ३५ क्विन्टल आलु उत्पादन गरेको वडा अध्यक्ष विकले जानकारी दिनुभयो । उत्पादन भएको आलु र प्याज स्थानीय बजारमै विक्री गरिएको छ । आलु र प्याज बिक्रीबाट करिब ४ लाख बराबर आम्दानी भएको छ । आमा समूहलाई वडामा रहेका युवाहरूले पनि सहयोग गर्दै आएका छन् । कृषकलाई कुनै समस्या नहोस् भनेर एक जना कृषि प्राविधिकको पनि व्यवस्था गरिएको वडा अध्यक्ष विकले जानकारी दिनुभयो ।
समूहले उत्पादन गरेका कृषिजन्य वस्तु बिक्री वितरणका लागि वडा कार्यालयले सहजीकरण गर्ने गरेको छ । वडामा रहेका अन्य ३ वटा आमा समूहलाई पनि वडाले तरकारी उत्पादनमा लगाउने योजना बनाएको छ । महिलाहरूलाई आत्मनिर्भर बनाउन तथा कृषि पेसामा आकर्षण गर्न मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस) ले ६ वटा आमा समूहलाई ६८ हजार रुपैयाँका दरले जम्मा चार लाख आठ हजार रकम सहयोग गरेको छ ।
मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस) को सहयोग तथा वडा कार्यालयको समन्वयले गर्दा तरकारी उत्पादनमा हौसला मिलेको कृषक खड्क केसीले जानकारी दिनुभयो । उहाँका अनुसार उत्पादन भएका कृषिजन्य वस्तु बजारीकरणमा कुनै समस्या छैन । तरकारी उत्पादनको लागि बीउ विजन, औषधी लगायत प्राविधिक ज्ञानको लागि वडा कार्यालयले सहयोग गर्दै आएको केसीले बताउनुभयो । सामूहिक तरकारी खेती गर्दा काम गर्न सजिलो हुनुका साथै उत्पादन पनि धेरै गर्न सकिने कृषक कर्णबहादुर पुनले बताउनुभयो ।
वडालाई आत्मनिर्भर बनाउन तरकारी उत्पादनलाई वडाले पहिलो प्राथमिकता राखेको जनाएको छ । एकल तथा सामूहिक तरकारी खेती गर्ने किसानलाई वडाले बीउ, आवश्यक पर्ने औषधी, लगायत अन्य सामग्री निःशुल्क उपलब्ध बनाउने योजना बनाएको छ । त्यस्तै कृषकले उत्पादन गरेको कृषिजन्य वस्तु वडाले नै खरिद गरेर विक्री वितरण गरिदिने योजना बनाएको वडा अध्यक्ष विकले जानकारी दिनुभयो ।