Kakhara सबैको खबर सम्पूर्ण खबर
पितिवाङ खोला पुलको ठेक्का तोड्न माग गर्दै जिल्ला प्रशासनलाई समाजवादी मोर्चाको पत्र 

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा सम्मिलित समाजवादी मोर्चा रुकुम पश्चिमले पितिवाङ खोला पुलको ठेक्का तोड्न माग गर्दै जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमलाई पत्र लेखेको छ । राप्ती राजमार्ग अन्तर्गत रुकुम पश्चिमको मुसिकोट नगरपालिका ११ र १२ लाई जोड्ने पितिवाङ खोला पुलको निर्माण कार्य तत्काल थाल्न माग गर्दै मोर्चाले लामो समय देखि सङ्घर्षका कार्यक्रम गर्दै आएको छ ।

यो पुल ४ वर्ष देखि अलपत्र अवस्थामा रहेको छ । सङ्घर्षका थुप्रै कार्यक्रम गर्दा पनि पुल निर्माण कार्य सुरु नहुने देखेपछि मोर्चाले ठेक्का तोड्न माग गर्दै आज जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेको हो । आज बिहान मुसिकोटमा बसेको मोर्चाको सचिवालय बैठकले अहिलेको ठेकेदारले पुल निर्माण नगर्ने निष्कर्ष निकाल्दै ठेक्का तोडी नयाँ ठेक्का आह्वान गर्न माग गर्दै प्रशासनलाई पत्र लेखिएको मोर्चाका जिल्ला संयोजक गोविन्द रोका सचिनले जानकारी दिनुभयो ।

पुल निर्माणको जिम्मा लिएको संरक्षण निर्माण सेवा चितवनबाट पुल निर्माणको कुनै सङ्केत नदेखिएपछि ठेक्का तोड्न आवश्यक सहजीकरणको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखिएको संयोजक रोकाले बताउनुभयो । सडक डिभिजन कार्यालय चौरजहारीले चैत्र २८ गते पितिवाङ खोला सहित अन्य केही पुलको ठेक्का किन नतोड्ने भन्दै १५ दिने सूचना जारी गरेको थियो । यसबाट पनि केही नभएको मोर्चाले जनाएको छ ।

पुल निर्माण कार्य सुरु गर्छु भनेर संरक्षण निर्माण सेवाले पटक पटक टेलिफोन तथा पत्र मार्फत आश्वासन मात्र दिएको दिए पनि काम सुरु नगरेको अब काम गर्ने अवस्था नदेखेपछि ठेक्का तोड्न सहजीकरणका लागि प्रशासनलाई पत्र लेखिएको उहाँको भनाई छ । यो पुल निर्माणका लागि २०७६ असार ८ गते भ्याट बाहेक चार करोड १२ लाख ३९ हजार तीन सय ७५ रुपैयाँमा सम्झौता भएको थियो ।

सम्झौता अनुसार पुल निर्माणको काम २०७८ वैशाख ७ गते सम्पन्न भइसक्नुपर्ने थियो । तर ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण पुल निर्माण अलपत्र पर्दा बर्सेनि हजारौँ नागरिकहरूले सास्ती भोग्ने गरेका छन् । यसलाई मध्यनजर गर्दै समाजवादी मोर्चाले पुल निर्माण कार्य तत्काल थाल्न दबाब दिने उद्देश्यले पुल निर्माण स्थलमा दबाबमूलक कार्यक्रम गर्नुका साथै जिल्ला प्रशासन कार्यालय र सडक डिभिजन कार्यालय चौरजहारीमा ध्यानाकर्षण पत्र बुझाउने देखि धर्ना दिनेसम्मका कार्यक्रम गरिसकेको छ ।

33f8560f-0267-4345-b18d-84c7ca5e1479-1714043294.jpeg
 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update