
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-६, मग्मा स्थित सिद्धार्थ जनता माविको परिसरमा घेराबार गरिएको छ । २०३५ सालदेखि विद्यालय घेराबार गर्ने योजना बल्ल पूरा भएको हो । स्थापनाकालदेखि नै विद्यालयमा घेरबारकाे आवश्यकता थियो । ३ सय ४० मिटर लामो र ६ मिटर अग्लो घेराबार लगाइएको विद्यालयले जनाएको छ । लामो समयदेखिको विद्यालयको आवश्यकता बल्ल पूरा भएको प्रधानाध्यापक नदीराम केसीले जानकारी दिनुभयो ।
विद्यालयको समग्र सुरक्षाका दृष्टिकोणले घेराबार निर्माणको काम महत्वपूर्ण भएको प्रअ केसीले बताउनुभयो । तार र सरियाको प्रयोग गरेर बनाइएको घेराबार सरोकारवाला निकायबाट भने भएको होइन । मग्मा घर भई अमेरिका रहनुभएका गोर्ख कुसारीको पहल र नेतृत्वमा घेराबार निर्माण भएको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष डिलबहादुर कुसारीले गोर्खको पहलमा अमेरिका रहेका र केही गाउँमै रहेकाहरूको नगद योगदानबाट घेराबार निर्माण सम्पन्न भएको जानकारी दिनुभयो ।
५ लाख ९५ हजार १ सय ५७ रुपैयाँ लागतमा यो योजना पूरा भएको छ । विव्यस अध्यक्ष कुसारीका अनुसार गोर्ख सहित अमेरिका रहेका १६ जनाले ५ लाख २० हजार ७ सय ५७ रुपैयाँ पठाइदिएका थिए । गोर्खसँगै अमेरिकाबाट प्रेमबहादुर कुसारी, नेत्रबहादुर कुसारी, बिनाराम कुसारी, केशर कुसारी, शुमनशिखर कुसारी, विजय खनालले नगद योगदान गरेका छन् । विकाश कुसारी, अमृत कुसारी देव गौतम, रामबहादुर कुसारी, देविराम कुसारी, कृष्णा खत्री, निमबहादुर ओली, लछिराम खत्री र प्रेम खत्रीले पनि घेराबार निर्माणका लागि अमेरिकाबाट नगद सहयोग गरेका छन् ।
घेराबार निर्माणमा गाउँकै स्थानीय पनि जोडिएका छन् । विव्यस अध्यक्ष कुसारी, प्रअ केसी, शिक्षक तेजेन्द्र देवकोटा, इन्द्रबहादुर खत्री र खिमबहादुर खत्रीले पनि घेराबार निर्माणमा नगद सहयोग गरेका छन् । गाउँको विद्यालयको सुरक्षाको लागि सानो सहयोग गरिएको यसका मुख्य पहलकर्ता गोर्खले बताउनुभयो । थोरथोरै गर्दा पनि एउटा मुख्य संस्थाको काम हुने भएपछि यो अभियान थालिएको उहाँले बताउनुभयो । अमेरिकामा यस अभियानमा जोडिनेहरू एकै आफन्त मात्रै भएको उहाँले जानकारी दिनुभयो । दाइभाइ, मामाभान्जा, ससुराज्वाँइ लगायत मिलेर एका घरका सदस्य मार्फत काम गरिएको उहाँले बताउनुभयो ।