
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ सिम्रुतुमा आज बिहान मिनी ट्रकको ठक्करबाट मृत्यु भएका जयबहादुर गिरीको शव बिच सडकमै रहेको छ । मृतकका आफन्त र प्रशासन बिच बिहानैदेखि छलफल भए पनि सहमति नहुँदा शव उठेको छैन । आक्रोशमा आएका स्थानीयले इलाका प्रहरी कार्यालय सिम्रुतु तोडफोड समेत गरेका छन् । प्रहरी कार्यालय परिसर बाहिर परिवार र आफन्त उचित क्षतिपूर्तिको माग धर्नामा छन् ।
बिहान ८ बजे घटना भएको भए पनि प्रशासनले कुनै चासो नदेखाएको मृतकका आफन्तले गुनासो गरेका छन् । प्रशासनले चासो नदेखाए थप आन्दोलनका कार्यक्रम गर्ने मृतकका आफन्त धनसिङ ओलीले बताउनुभयो । दाङबाट ट्रक साहुलाई बोलाएको र साहु पुगेपछि मात्रै टुङ्गो लाग्ने घटनास्थल पुग्नु भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो । यस विषयमा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई समेत जानकारी गराइसकिएकाले थप प्रक्रिया अगाडि बढेको उहाँले बताउनुभयो ।
त्यस्तै राप्ती राजमार्ग अझै सञ्चालनमा आएको छैन । घटना भएदेखि सडक बन्द छ । माेटरसाइकललाई ठक्कर दिने मिनी ट्रक बिच सडकमै रहेको र मोटरसाइकल समेत ट्रकले च्यापिएको अवस्थामा छ । जसका कारण दिनभर सडक बन्द छ । सडक अवरुद्ध हुँदा जिल्लाबाट बाहिरिने र जिल्ला भित्रिने सवारी साधन प्रभावित भएका छन् ।
आज बिहान दाङबाट खलङ्गा आउँदै गरेको रा १ ख ३२१७ नम्बरको मिनी ट्रकले सिम्रुतुमा मोटरसाइकललाई ठक्कर दिँदा त्रिवेणी गाउँपालिका वडा नम्बर ४ पूर्णखाराका ४० वर्षीय जयबहादुर गिरीको मृत्यु भएको थियो । ट्रक चालक सल्यानको छत्रेश्वरी गाउँपालिका ७ का २७ वर्षीय लक्ष्मण खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ब्रेक फेल हुँदा ट्रकले माेटरसाइकललाई ठक्कर दिएको बताइएको छ ।