
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ सिम्रुतु बजारमा मिनी ट्रकको ठक्करबाट मृत्यु भएका जयबहादुर गिरीको शव आफन्तले बुझेका छन् । क्षतिपूर्ति दिने सहमति पश्चात् गिरीका आफन्त शव बुझ्न राजी भएका हुन् ।
इलाका प्रहरी कार्यालय सिम्रुतुमा मङ्गलवार दिनभर भएको छलफल पछि साँझ मात्र सहमति जुटेको हो । मृतकका परिवारलाई बिमा बापतको रकम सहित साढे १२ लाख क्षतिपूर्ति दिने सहमति भएको बताइएको छ । सहमति भएपछि मृतकका आफन्त शव बुझ्न सहमत भएका हुन् ।
गिरीको शव मङ्गलवार दिनभर बिच सडकमै रहेको थियो । आक्रोशित मृतकका आफन्तले इलाका प्रहरी कार्यालय सिम्रुतुमा ढुङ्गामुढाको प्रयास समेत गरेका थिए । त्यस्तै मङ्गलवार दिनभर राप्ती राजमार्ग अवरुद्ध रह्यो ।
बिहान ८ बजे दुर्घटना भएदेखि नै मृतकका आफन्त तथा बजारवासीले सडक अवरुद्ध बनाएका थिए । दिनभर घटनास्थल तनावग्रस्त बनेको थियो । कानुन अनुसार क्षतिपूर्ति उपलब्ध गराउने सहमति पश्चात् मङ्गलवार साँझ नै गिरीको शव उठाएर पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
सबै कुरा साम्य भएको र अवस्था सामान्य भएको उहाँले बताउनुभयो । अवरुद्ध सडक समेत सुचारु भएको उहाँको भनाई छ । मङ्गलवार बिहान दाङबाट खलङ्गा आउँदै गरेको रा १ ख ३२१७ नम्बरको मिनी ट्रकले सिम्रुतु बजारमा ठक्कर दिँदा त्रिवेणी गाउँपालिका वडा नम्बर ४ पूर्णखाराका ४० वर्षीय जयबहादुर गिरीको मृत्यु भएको हो ।
मोटरसाइकल चालक गिरीको घटनास्थलमै मृत्यु भएको थियो । ट्रकको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । ट्रक चालक सल्यानको छत्रेश्वरी गाउँपालिका ७ का २७ वर्षीय लक्ष्मण खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।।