Kakhara सबैको खबर सम्पूर्ण खबर
अठार महिने छोरीलाई पासो लगाएर मार्न खोज्ने आमा पक्राउ 
फाइल फोटो

रुकुम पश्चिममा आफ्नै छोरीलाई सलको पासो लगाएर मार्न खोज्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको मुसीकोट नगरपालिका वडा नम्बर १४ लोरिवाङकी २१ वर्षीया नन्दकली विष्टलाई प्रहरीले पक्राउ गरेको हो । १८ महिनाको छोरीलाई आफु सुत्ने कोठामा सलले झुन्ड्याएर मार्न खोज्ने विष्टलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार छोरीलाई पासो लगाएर भिडिओ बनाउन खोज्दा छिमेकीले देखेपछी घटना पक्ता लागेको हो । त्यसपश्चात छोरीलाई पासो लगाउने विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नाबालक छोरीको उद्धार गरी जिल्ला अस्पताल सल्लेमा उपचारपछी डिस्चार्ज भइसकेको र अवस्था सामान्य रहेको प्रहरी प्रमुख पोखरेलले जानकारी दिनुभयो । भिडिओ भने सार्वजनिक नभएको प्रहरीले जनाएको छ । 

छोरीलाई मार्न खोज्ने २१ वर्षीया आमा  नन्दकलीलाई ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरी थप अनुुसन्धान अगाडी बढाएको  जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update