
मुख्यमन्त्री दलित आयआर्जन कार्यक्रम अन्तर्गत वित्तिय पहुँच कार्यक्रम सञ्चालनमा दोस्रो पटक आवेदन नपरेपछि तेस्रो पटक सूचना आह्वान गरिएको छ । सोमबार उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिमले एक सूचना जारी गर्दै ३ दिन भित्र आवेदन पेस गर्न अनुरोध गरेको हो । कर्णाली प्रदेश सरकारले गरिव बेरोजगार तथा बिपन्न दलितका परम्परागत पेशा वा व्यवसायलाई आधुनिकिकरण गर्न तथा आयआर्जन, क्षमता विकास गर्ने विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सोही कार्यक्रम सञ्चालनको लागि दोस्रो पटक सूचना मार्फत आह्वान गर्दा दलित समुदायबाट कसैले आवेदन पेस नगरेपछि तेस्रो पटक सूूचना निकालेर आवेदन पेस गर्न भनिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय रुकुम पश्चिमका प्रमुख मानबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो पटक चैत १९ गते दोस्रो पटक वैशाख १० गते सूचना प्रकाशन गरिएको थियो । पर्याप्त आवेदन नपरेपछी पुनः वित्तिय पहुँच कार्यक्रमको लागि दलित समुदायलाई वित्तिय पहुँच कार्यक्रमा सहभागि हुन ३ दिनको समय दिएको छ ।
कार्यक्रममा सहभागि हुनको लागि ईच्छुक दलित समुदाय तथा दलितलाई वितिय पहुँच कार्यक्रममा आवेदन पेस गर्न भनिएको छ । वित्तिय पहुँच कार्यक्रममा सहभागिताको लागि नेपाली नागरिकताको प्रतिलिपि, अनुसूचि–३ अनुसारको आवेदन, कार्यविधिको अनुसुची– १ बमोजिमको व्यवसायिक योजना, लागत साझेदारी प्रस्ताव पेस गर्न भनिएको छ ।
त्यस्तै सम्वन्धीत पेशा व्यवसायको तालिम लिएको प्रमाणपत्रको प्रतिलिपि, पेसा ब्यवसायलाई आधुनिकिकरण गर्न आवश्यक मेसिन, उपकरण वा पूर्वाधार निर्माणको व्यवसायिक प्रस्ताव र पेसा वा व्यवसायलाई निरन्तरता दिने लिखित प्रतिवद्दता पत्र पेस गर्नुपर्ने कार्यालयले जनाएको छ ।