Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा जेठ १३ गतेदेखि पोलियो विरुद्धको खोप अभियान चल्ने
जिल्ला खाेप समन्वय समितिकाे बैठक ।

रुकुम पश्चिममा पनि पोलियो रोग विरुद्धको आइपिभि खोप अभियान सञ्चालन हुने भएको छ । जेठ १३ गतेबाट २६ गतेसम्म जिल्ला भरमा खोप अभियान सञ्चालन हुने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । यस सम्बन्धमा छलफलका लागि आज जिल्ला खोप समन्वय समितिको बैठक बसेको छ । उक्त बैठकले खोप अभियानलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । यो खोप २०७३ को वैशाख देखि २०७५ को असोजसम्म जन्मिएका बालबालिकालाई लगाइने छ ।

जिल्ला दुई चरणमा खोप अभियान सञ्चालन हुने स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कालीबहादुर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा जेठ १३ गते देखि १८ गतेसम्म जिल्लाको चौरजहारी नगरपालिकामा खोप अभियान सञ्चालन हुने छ । त्यस्तै अन्य पाँच पालिकामा जेठ २० देखि २६ गतेसम्म एकैसाथ खोप अभियान सञ्चालन हुने उहाँले बताउनुभयो । जिल्ला भरमा करिब १० हजार बालबालिकालाई खोप लगाउने लक्ष रहेको सूचना अधिकारी ओलीको भनाई छ । यो खोप स्वास्थ्य संस्था र विद्यालयमा सञ्चालन हुने छ ।

खोपका लागि जिल्ला भरमा दुई सय ९३ वटा खोप केन्द्रहरू रहेका छन् । भने दुई सय ७८ जना खोप कार्यकर्ता र चार सय महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने ओलीले बताउनुभयो ।

जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, जिल्ला समन्वय समिति उप प्रमुख देवबहादुर बिक, जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज पोख्रेल, सशस्त्र प्रहरी प्रमुख सुमन लामिछाने, प्रमुख अनुसन्धान अधिकृत चिरञ्जीवी बुढा, जिल्ला अस्पतालका स्त्री रोग विशेषज्ञ डाक्टर केहलविक्रम जिसी लगायतको उपस्थिति रहेको थियो । बैठकको सहजिकरण स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कालीबहादुर ओलीले गर्नुभएको थियो ।।

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update