
रुकुम पश्चिममा यस वर्ष ३५ वटा घरहरु आगलागी भएको छ । हिउँदयाम सुरुदेखि हालसम्म जिल्लामा २९ वटा घर र ६ वटा गोठ गरेर ३५ वटा संरचनामा आगलागी भएको हो । आगलागी भएका घर गोठहरु पुर्णरुपमा क्षती भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । आगलागीकै कारण १ महिलाको मृत्यु भएको थियो । भने आगो निभाउने क्रममा २ महिला घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बखत शाहीले जानकारी दिनुभयो ।
उहाँका अनुसार मुसीकोट नगरपालिका, सानीभेरी गाउँपालिका र बाँफीकोट गाउँपालिकामा आगलागीबाट बढी घरहरु क्षती भएका छन् । आगलागीबाट घरमा भएको अन्नपात, लत्ताकपडा, भाडाबर्तन तथा कागजातहरु जलेर नष्ट भएका छन् । ३५ वटा घरहरुमा आगोलागी हुँदा करिव ४९ लाख ५२ हजार रुपैयाँ बराबरको क्षती भएको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो ।
गत शनिबार मात्रै मुसीकोट नगरपालिका वडा नम्बर ३ माछमीका गोर्खबहादुर केसीको घरमा विद्युत सर्ट भएर आगोलागी हुँदा २५ लाख रुपैयाँ बढीको क्षती भएको थियो । उहाँको घरमा भएको सुन, नगद, तामा, कासका भाडाबर्तन, अन्नपात जलेर नष्ट भएका थिए । व्यक्तीको कमी कमजोरीका कारण सामुदायिक वन तथा घरहरुमा आगलागीका घटनाहरु हुने गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिले जनाएको छ ।