Kakhara सबैको खबर सम्पूर्ण खबर
दश वर्षमा पुल निर्माणको प्रगती पाँच प्रतिशत 
पुल निर्माण हुनुपर्ने ठाउँ राताे घेरामा । फाेटाेः गुगल म्यापबाट स्क्रिन सट ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर २ र ४ लाई जोड्ने गिठाकोट नजिकै भेरी नदी माथि पुल निर्माणको काम अलपत्र अवस्थामा छाडेपछि ठेक्का सम्झौता रद्ध गरिएको छ । चौरजहारी सडक डिभिजन कार्यालय चौरजहारीले मंगलबार एक सूचना चारी गर्दै १० वर्षसम्म पुल निर्माणको काम अलपत्र अवस्थामा छाडिएकाले ठेक्का सम्झौता अन्त्य गरिएको जनाएको छ । देवस्थल चौरजहारी राडिज्युला डोल्पा सडक खण्ड अन्तरर्गत मध्यपहाडी राजमार्ग नजिकै भेरी नदिमाथि पुर्तिमकाँडा र गरायला जोड्ने आरसीसी पुल निर्माण अलपत्र अवस्थामा छाडिएकाले ठेक्का रद्ध गरिएको सडक डिभिजन चौरजहारीका प्रमुख तेजस्वी  शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुल निर्माण गर्न सपना शैलुङ जेभी ललितपुर र तत्कालिन मध्यपश्चिमाञ्चल डिभिजन सडक कार्यालय घोराही दाङ विच २०७१ साल मंसिर २ मा सम्भौता भएको थियो । सम्झौता भएको २ वर्ष अर्थात २०७३ पुस १ गते निर्माण सम्पन्न गरिसक्नु पर्ने थियो । सो अवधिमा पुल निर्माण हुन नसकेपछि दोस्रो पटक २०७७ साल पुस १३ सम्म निर्माण सम्पन्न गर्ने गरी म्याद थप गरिएको थियो । तर १० वर्ष वितिसक्दा पनि हालसम्म पुल निर्माणको काम ५ प्रतिशत मात्र भौतिक प्रगती भएको  छ । निर्माणको काम अलपत्र अवस्थामा छोडेपछि निर्माण व्यवसायीलाई लिखित तथा मौखिक रुपमा पटक पटक अनुरोध गर्दा समेत सम्पर्कमा नआएपछि शर्तहरु बमोजिम दायित्व पुरा गर्न नसकेको हुँदा ठेक्का सम्झौता अन्त्य गरिएको प्रमुख शर्माले जानकारी दिनुभयो ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९(७) र ठेक्का सम्झौताको आधारमा ठेक्का अन्त्य गरिएको  कार्यालयले जनाएको छ । ठेक्का सम्झौता बमोजिम निर्माण व्यवसायीलाई  कार्यस्थल छाड्नका साथै  सोही सम्झौताको बमोजिम स्वीकार्य रूपमा सम्पन्न भईसकेको कुनै कार्य भएमा सूचना प्रकाशित भएको ७ दिनभित्र निर्माण व्यवसायीको आधिकारिक प्रतिनिधि समाप्ति मूल्याङ्कनको लागि कार्यालयमा सम्पर्क गर्न भनिएको छ ।

 १ सय ६० मिटर लामो आरसिसि पुल निर्माणका लागि १४ करोड ७४ लाख रुपैयाँमा सम्झौता भएको थियो । पुल निर्माणको प्रगती ५ प्रतिशत भएपनि निर्माण व्यवसायीले ५५ लाख रुपैयाँ भुक्तानी लिइ सकेको कार्यालयले जनाएको छ । कार्यालयको तर्फबाट निर्माण व्यवसायीलाई कालो सूचिमा राख्ने प्रक्रिया समेत सुरु भएको र  बाँकि कामको मूल्याङकन हुने र सम्पूर्ण खर्च सरकारी नियम अनुसार अशुल  उपर गरिने डिभिजन प्रमुख शर्माले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update