Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका स्थानीय तहहरूले ल्याए ४ अर्ब बढीको बजेट, कुन पालिकाको बजेट कति ?
आठबीसकोट नगर उपप्रमुख धनकुमारी शाही आर्थिक वर्ष २०८१/०८२ को बजेट पेश गर्ने क्रममा लिएको तस्विर ।

रुकुम पश्चिमका स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ४ अर्ब बढीको बजेट ल्याएका छन् । ३ नगरपालिका र ३ गाउँपालिकाले आगामी वर्षका लागि कुल ४ अर्ब ११ करोड ६७ लाख ३५ हजार ५ सय १८ रुपैयाँ बराबरको बजेट ल्याएका हुन् । स्थानीय तहले ल्याएको कुल बजेटमा पुँजीगतको तुलनामा चालु बजेट दोब्बर भन्दा बढी रहेको छ । जिल्लाभरको कुल पुँजीगत बजेट १ अर्ब २८ करोड ८८ लाख ८८ हजार ३६ रहेको छ । चालु तर्फ भने २ अर्ब ८२ करोड ७८ लाख ४७ हजार ४ सय ८२ रहेको छ । 

जिल्लामा सबै भन्दा बढी बजेट चौरजहारी नगरपालिका र कम सानीभेरी गाउँपालिकाले ल्याएको छ । चौरजहारीले ९२ करोड ८७ लाख ४५ रुपैयाँ बजेट अनुमान गरेको छ । सानीभेरीको ५१ करोड ३८ लाख ५३ हजार ५ सय १ रुपैयाँ रहेको छ । जिल्ला सदरमुकाम समेत रहेको मुसिकोट नगरपालिकाले चालु वर्षको भन्दा केही रकम बढाएर ८४ करोड ७१ लाख ७८ हजार ९ सय ८६ रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । आठबीसकोट नगरपालिकाले ७२ करोड ७६ लाख ६१ हजार ३१ रुपैयाँ बराबरको बजेट पास गरेको छ । 

बाँफिकोट गाउँपालिकाले ५१ करोड ६९ लाख ८४ हजार बजेट अनुमान गर्दा त्रिवेणी गाउँपालिकाले ५८ करोड २३ लाख १३ रुपैयाँ बरावरको बजेट पारित गरेको छ । चौरजहारी नगरपालिकाले असार ७ गते नीति, कार्यक्रम ल्याएकामा ८ गते बजेट ल्याएको थियो । भने त्रिवेणी गाउँपालिकाले ७ गते एकै दिन नीति तथा कार्यक्रम र बजेट ल्याएको थियो । अन्य ४ स्थानीय तह आठबीसकोट र मुसिकोट नगरपालिका तथा सानीभेरी र बाँफिकोट गाउँपालिकाले  भने असार १० गते नै नीति तथा कार्यक्रम र बजेट ल्याएका थिए ।

केही स्थानीय तहले बजेट पारित समेत गरिसकेका छन् भने केहीले पारित गर्न बाँकी छ । पालिकाले असार १० गतेसम्म गाउँ तथा नगर सभामा नीति कार्यक्रम र बजेट पेस गरिसक्नुपर्ने र असार मसान्तसम्म भित्र बजेट पास गरिसक्नुपर्ने व्यवस्था रहेको छ । 

 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update