Kakhara सबैको खबर सम्पूर्ण खबर
मौलिकता हराउँदै गएको देउसी भैलो 

पछिल्लो समय देउसी भैलो खेल्ने चलन फेरिँदै गएको छ । केही वर्ष पहिलेको देउसी भैलो र अहिले देउसी भैलोमा धेरै भिन्नता पाउन सकिन्छ । देउसी भैलो खेल्दा केही वर्ष पहिले देखिने झ्याली, मादल, बाँसुरी, डमरु अहिलेको समयमा देख्न मुस्किल छ । पछिल्लो समय परम्परागत बाजा मात्रै होइन पुरानो संस्कृति समेत ओझेलमा पर्दै गएको महसुस हुन थालेको रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ का ८८ बर्सिया मनबहादुर ओलीले बताउनुभयो । ओली भन्नुहुन्छ 'पहिले तिहार आउँदा गाउँघरमा भएका बुढापाका मिलेर देउसी भैलो खेल्ने गर्थ्यौँ, तिहार आएजस्तो हुन्थ्यो, आज भोली त पहिलेको जस्तो झ्याली मादल, डमरु बजाएर देउसी भैलो खेल्न छोडे परम्परागत संस्कृतिलाई भुल्दै गए । स्पिकरमा बजारमा आएका गीतमा ४/५ मिनेट नाचे गए हामी बुढापाकालाई पहिलेको तिहार सम्झिदा त आज भोलीको तिहार निकै फरक लाग्छ, आज भोलीका युवायुवतीहरू आधुनिक परिवेशमा हुर्केर होला पुरानो संस्कृति भुल्दै गएका छन् ।'

पुराना संस्कृति र परम्परालाई जोगाउन सबैले आफ्नो ठाउँबाट पहल गर्नुपर्ने उहाँका भनाई छ । त्रिवेणी गाउँपालिका वडा नम्बर २ कि ६३ बर्सिया देउमता ओलीलाई पनि गाउँघरमा तिहार त आएको छ नाच गान भइरहेको छ तर तिहारको महसुस हुन सकेको छैन । तिहार आएको जस्तो महसुस नहुनुको कारण हो मौलिकता हराउँदै जानू । उहाँलाई तिहारमा देउसी भैलो खेल्दा आफै गीत गाएर नाचौँ नाचौँ जस्तो हुन्छ तर साउन्ड सिस्टमबाट बजारमा तयार गरिएका गीतमा उहाँलाई नाच्न आउँदैन ।  तिहार भन्दा बाहिरका गीत लोक गीत, पप गीत, आधुनिक गीतमा समेत देउसी भैलो खेल्ने प्रवृत्ति बढेकोले उहाँको कति चित्त बुझेको छैन । त्यस्तैले पनि उहाँलाई पछिल्लो समय मौलिकता हराउँदै गएको तिहारको बढी चिन्ता लाग्ने गर्दछ ।

‘आहै भन भन भाइ हो देउसिरे ! आहै यो तिहारमा सुख शान्ति मिलोस् देउसिरे ! यस्तै मिठा मिठा शब्द मिसाएर गरेर भट्याएको सुनेको छैन । पहिले त हाम्रो पालामा मुखले यसरी नै भट्याएर देउसी भैलो खेलिन्थ्यो" ओलीले भन्नुभयो-अव मुखले भ्याट्याउने दुःख कसैले गर्दैनन्, एउटा डेग बोक्यो हिँड्यो नाच सकियो । कला संस्कृति जोगाउने भन्दा पनि कसले कति कमाउने भन्ने प्रतिस्पर्धा हुन थालेको छ । हामी त १०/ २० रुपैयाँ दिएपछि खुसी हुन्थ्यौँ । साथीभाइ छरछिमेक जम्मा भएर रमाइलो गर्ने चलन थियो । आज भोली त त्यस्तो देखिदैन् ।' मौलिकतालाई जोगाइ राख्न पछिल्लो पुस्ताले यसमा जोड दिनुपर्ने उहाँको भनाई छ । यसले गर्दा एकातर्फ मौलिकता बचाइराख्न सकिने र अर्को तर्फ देउसी भैलोमा मादल, डमरु, बाँसुरी लगायतका सामग्री प्रयोग गर्दा ती सामग्री बनाउने व्यवसायको पनि प्रवर्द्धन हुने उहाँको भनाइ छ ।

परम्परागत संस्कृति बिर्सिँदै जाने हो भने पछि आउने पुस्तालाई यसको कुनै पनि महत्त्व नहुने र परम्परागत संस्कृति मासिने भन्दै पुनले चिन्ता व्यक्त गर्नुभयो । परम्परागत संस्कृतिलाई जोगाउन र यसको प्रवर्द्धन गर्न गाउँ समाजका साथै स्थानीय सरकारले पनि चासो दिनुपर्ने उहाँको भनाई छ । नयाँ पुस्ता परम्परागत शैलीभन्दा आधुनिक शैली तर्फ बढी आकर्षित भएकाले यसको असर मौलिक संस्कृति तिर असर पर्न थालेको त्रिवेणी गाउँपालिका ६ मा रहेको भिमकल्याण आधारभूत विद्यालय बाँठाकोटका शिक्षक कुबेर ओलीले बताउनुभयो । परम्परागत संस्कृतिलाई बचाइ राख्न विद्यालय तहबाटै नै पहल गर्नुपर्ने उहाँले बताउनुभयो । 'पहिलो पाठशाला घरपरिवार र दोस्रो पाठशाला विद्यालय भएकाले विद्यालय तहबाटै विद्यार्थीलाई मौलिक कला संस्कृतिको बारेमा जानकारी बनाई त्यसको शिक्षा दिनुपर्छ, शिक्षक ओलीले भन्नुभयो ।'

प्रविधिको प्रयोग गर्नुपर्ने तर अरूको सिको गर्न नहुने उहाँको भनाइ छ । विद्यालय तहबाट नै परम्परागत संस्कृतिको विकासको निम्ति पहल गर्ने हो भने तिहारमा खेलिने देउसी भैलोमा पनि मौलिकता झल्काउन सकिने उहाँको भनाइ छ । प्रत्येक विद्यालयले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई परम्परागत संस्कृतिको बारेमा जानकारी दिनुका साथै संरक्षण गर्न जोड दिएमा परम्परागत संस्कृति बचाउन सकिने उहाँले बताउनुभयो । यसमा स्थानीय तहहरूले पनि परम्परागत कला संस्कृति जगेर्ना गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने शिक्षक ओलीले बताउनुभयो । 

गाउँ गाउँमा मयूर नाच 
पछिल्लो समय गाउँगाउँ तथा बजारमा मयूर नाच प्रस्तुत गर्ने चलन भने बढेको छ । तिहारको समयमा गाउँ तथा बजार क्षेत्रमा मयूर नाच प्रस्तुत गर्दा परम्परागत कला संस्कृति जोगाउन केही हदसम्म सहयोग पुगेको स्थानीयवासी बताउँछन् । देउसी भैलोमा परम्परागत बाजा नदेखिए पनि मयूर नाचमा मादल, झ्याम्टा, झ्याली, डमरु बाँसुरी बजाएको देख्न सकिन्छ । यसले गर्दा पनि मयूर नाचमा परम्परागत कला संस्कृतिको जगेर्ना भएको मुसिकोट नगरपालिका ५ सेरिगाउँका ६६वर्षीय बेचु खत्रीले बताउनुभयो । मयूर नाचमा मात्र नभई तिहारमा खेलिने देउसी भैलोमा परम्परागत मौलिकता हुनुपर्ने उहाँको भनाइ छ ।

बजारमा उपलब्ध भएका गीत डेगमा बजाएर देउसी भैलो खेल्ने गरिएको प्रसङ्ग जोड्दै स्थानीय कला संस्कृति जोगाउन युवाहरु नै अगाडी बढ्नुपर्ने खत्रीले बताउनुभयो । 'स्थानीय कला संस्कृति जोगाउन युवाहरू अगाडी नबढ्ने हो भने पछि आउने पुस्ताले मादल, झ्याली, डमरु जस्ता देउसी भैलोमा प्रयोग हुने सामग्री कस्तो हुन्छ भन्ने अवस्था आउन सक्ने अवस्था सिर्जना हुन सक्छ, त्यसैले घर परिवारबाटै स्थानीय कला संस्कृतिको जर्गना गर्न आफ्ना बालबच्चालाई सिकाउनुपर्छ उहाँले भन्नुभयो ।' नयाँ पुस्ताको देउसी भैलोमा मौलिकता नदेखिए पनि कहीँ कतै बुढापाकाले खेल्ने देउसी भैलोमा भने मौलिकता अझै कायमै छ । 'घाँटीमा मादल, खुट्टा रिङ लगाएर आफै देउसी भैलोको स्थानीय भाका भट्याउँदै नाच प्रस्तुत गरेको देख्न सकिन्छ, ओहो ! तिहार यस्तो पो रमाइलो हो त खत्रीले भन्नुभयो ।'

प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०८१  १९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update