
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ र मुसिकोट नगरपालिका वडा नम्बर ९ को सङ्गम स्थल गैरिनेटामा परम्परागत रूपमा लाग्दै आएको मेला सुरु भएको छ । आइतबार मेलाको उद्घाटन त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले गर्नुभएको थियो । आइतबारबाट सुरु भएको मेला ३० गतेसम्म चल्ले छ । वडा युवा तथा खेलकुद वकास समितिको आयोजना तथा हाम्रो युवा समाजको सह आयोजनामा खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएको छ ।
मेलामा खुला शुद्ध वडा स्तरीय पुरुष भलिबल, एकल नृत्य, लोक दोहोरी, आमा समूह रस्साकस्सी र भाले तान्ने प्रतियोगिता आयोजना गरिएको मेला व्यवस्थापन समितिका अध्यक्ष मिलन पुनले जानकारी दिनुभयो । उहाँका अनुसार भलिबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समूहले नगद १ लाख १ हजार १ सय ११, दोस्रो स्थान हासिल गर्ने समूहले ५१ हजार १ सय ११ र सान्त्वना हुने दुई टिमले समान २१ हजार १ सय ११ रुपैयाँको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । भलिबल प्रतियोगिमा रुकुम पश्चिम्, रुकुम पुर्व र रोल्पासहित २१ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
त्यस्तै एकल नृत्य, लोक दोहोरी र आमा समूह रस्साकस्सी तर्फ समान प्रथम स्थान हासिल गर्ने समूहले ५ हजार, दोस्रो स्थान हासिल गर्ने समूहले ३ हजार र तेस्रो स्थान हासिल गर्ने समूहले २ हजार रुपैयाँ पुरस्कारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । दर्ता शुल्क पनि समान ३ सय रहेको छ । भाले तान्ने प्रतियोगितामा विजेता हुने व्यक्तिले ३ हजार बराबरको रातो भाले प्राप्त गर्ने छ । दर्ता शुल्क २ सय रहेको छ ।मेला उद्घाटन समारोहमा स्थानीय झाँकी, आमा समुह र मयूर नाच प्रदर्शन गरिएको थियो ।
वडा पालिका खेलकुद विकास समितिका अध्यक्ष मिलन पुनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष केसीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै २ नम्बर वडा अध्यक्ष मोतीराम पुनको विषेश आतिथ्यता रहेको थियो । अन्य अतिथिहरुमा वडा नम्बर २ का वडा सदस्य भिमदत्त बुढाथोकी, मुसिकोट नगरपालिका वडा नम्बर ६ का वडा सदस्य अनिल बुढा, त्रिवेणी गाउँपालिका वडा नम्बर २ का पुर्व वडा सदस्य बहादुर खड्का लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन पत्रकार बलेन्द्र ओलीले गर्नुभएको थियो ।
गैरिनेटा मुसिकोट नगरपालिका ९ र त्रिवेणी गाउँपालिका वडा नम्बर २ को सिमानामा रहेकाले हरेक वर्ष मुसिकोट र त्रिवेणीले आलोपालो मेला लगाउँदै आएका छन् । गत वर्ष मुसिकोट ९ ले मेला आयोजना गरेको थियो भने यस वर्ष त्रिवेणीले मेला आयोजना गरेको छ ।