Kakhara सबैको खबर सम्पूर्ण खबर
खलङ्गामा यस वर्ष पाँच पूर्णिमा मेला लगाइने, मेलालाई भव्य बनाउन समिति गठन  
मेलालाई झल्काउने बराहटाकुरामै लागेकाे अन्य मेलाकाे फाेटाे प्रयाेग गरिएकाे छ ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ खलङ्गाको बराहटाकुरामा परम्परागत रूपमा लाग्दै आएको पाँच पूर्णिमा मेला यस वर्ष भव्य रूपमा लगाइने भएको छ । केही वर्ष देखि मेला लाग्न छाडेको अवस्था छ । केही वर्ष अघिसम्म दसैँको पाँच पूर्णिमाका दिन ठुलो मेला लाग्ने गरेको थियो । हराउँदै गएको मेलालाई यस वर्ष भव्य बनाउने गरी मेला व्यवस्थापन समिति गठन गरिएको छ ।

मुसिकोट खलङ्गामा भएको स्थानीयको भेलाबाट हेमराज श्रेष्ठको संयोजकत्वमा बराहटाकुरा मेला व्यवस्थापन समिति गठन गरेको हो । जसको सचिवमा गोपाल थापा र कोषाध्यक्षमा वनिता मल्ल रहनुभएको छ । उक्त समितिले मेला व्यवस्थापन गरेर भव्य बनाउने गरी काम गरिरहेको जनाएको छ । यस वर्षको मेला असोज २१ गते मङ्गलवार परेको छ ।

उक्त मेलालाई भव्य बनाउन समितिले देश तथा विदेशमा रहेका व्यक्तिहरूलाई मेला सञ्चालनका लागि सहयोग गर्न अपिल समेत गरेको छ । त्यस्तै मेलाका लागि मुसिकोट नगरपालिकाले सहयोग गर्ने भएको छ । मेलामा आफ्नो वडाको मौलिक नाच तथा झाँकी सहभागिताका लागि नगरका १४ वटै वडालाई आग्रह गर्ने र मेलामा सहभागी उत्कृष्ट नाच तथा झाँकीलाई हौसला स्वरूप सम्मान गर्ने छ ।

मेलाको प्रचार प्रसार देखि मेला व्यवस्थापनका लागि आर्थिक सहयोगको काम भइरहेको समितिले जनाएको छ ।  

प्रकाशित मिति: आइतबार, असोज १९, २०८२  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update