1701863429.jpg)
उच्च अदालत सुर्खेतले जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनाका प्रतिवादीहरूलाई जन्मकैदको सजाय सदर गरेको छ ।
उच्च अदालतका न्यायाधीशहरू सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले मंगलबार घटनाका २३ प्रतिवादीलाई जन्मकैदको सजाय सदर गरेको हो । इजलासले जातीय छुवाछुत कसुरमा दिइएको सजाय भने बदर गरेको छ ।
उच्च अदालतका उपरजिस्ट्रार प्रेमप्रकाश थापाले सोती घटनामा उच्च अदालत सुर्खेतले जिल्ला अदालतको फैसला आंशिक सदर गरेको जानकारी दिनुभयाे ।
-1745979134.jpg)
२०८० मंसिर १९ मा जिल्ला अदालत रुकुम पश्चिमका तत्कालीन जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासले तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २४ जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।
नवराजकी प्रेमीका, उनकी आमा र दाइलाई जातीय छुवाछुतमा दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय सुनाएको थियो । जातीय भेदभाव तथा छुवाछुतमा जिल्लाले दुई वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना गरेको थियो । त्यसलाई उच्च अदालतले बदर गरेको हाे ।
जिल्ला अदालतको फैसलाविरुद्ध रुकुमपश्चिम थुनामा रहेका मल्लसहितले २४ थान पुनरावेदन दायर गरेकोमा नवराज विकका बुवा मुनलाल नेपालीले दुई थान पुनरावेदन निवेदन दायर गर्नुभएकाे थियाे ।
२०७७ जेठ १० मा रूकुम पश्चिमकाे चाैरजहारी नगरपालिका वडा नम्बर ८ सोती गाउँका स्थानीयको आक्रमणबाट भेरी नगरपालिका–४ का नवराज विक, १७ वर्षीय गणेश बुढामगर, २१ वर्षीय सञ्जु विक, भेरी नगरपालिका–११ का १८ वर्षीय लोकेन्द्र सुनार, १७ वर्षीय गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिका–१ का २० वर्षीय टीकाराम नेपालीको ज्यान गएको थियो ।
यो घटनामा जिल्ला अदालतले रुकुम चौरजहारी नगरपालिका–८ वडाध्यक्ष डम्बरबहादुर मल्ल, सोती गाउँका नेत्रबहादुर मल्ल, रेशम मल्ल, सविन पुन, नवीनकुमार घर्तीमगर, विराज पुन मगर, धनराज राना, भीमबहादुर पुन, रमित पुन मगर, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, मोहन पुन मगर, इर्दबहादुर ठकुरी, तिलक चन्द, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, विष्णु मल्ल, नवराजकी प्रेमिकाका बुबा परिवर्तित नाम ‘५४ रुकुम पश्चिम ३६’ ९१० र दाजु ‘५४ रुकुम पश्चिम ३६’ ९३० लाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।