Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरी नदीमा बाढी तथा डुबान सम्बन्धी नमुना अभ्यास

रुकुम पश्चिमको सानीभेरी नदीमा बाढी पहिरो तथा डुबान सम्बन्धी कृत्रिम नमुना अभ्यास गरिएको छ । जिल्ला विपत् व्यवस्थापन समितिको संयोजन र नेपाली सेनाको चण्डी दल गण सल्ले, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्मकाे संयुक्त आयाेजनामा मुसिकोट नगरपालिका १ गाराघाट स्थित सानीभेरी नदीमा अभ्यास गरिएको हो । नदीमा बाढी आयो र त्यसले बस्तीमा क्षति गर्‍यो भने कसरी उद्धार गर्ने भन्ने विषयमा अभ्यास गरिएको छ । बाढीका कारण घरमा थुनिएका तथा डुबानमा परेका र नदीमा फसेका व्यक्तिलाई उद्धार गरेर देखाइएको थियो ।

IMG-20250530-WA0035-1748613647.jpg
विभिन्न विधि मार्फत डुबानमा परेका मानिसहरूलाई उद्धार गरिएको नेपाली सेनाको चण्डी दल गण सल्लेले जनाएको छ । साथै घाइतेहरूलाई उद्धार गरेर कसरी स्वास्थ्य संस्थासम्म पुर्‍याउने भन्ने बारेमा पनि अभ्यास गरिएको थियो । अब मनसुन सुरु हुन गइरहेको अवस्थामा जिल्लामा हुनसक्ने बाढीजन्य विपत्का घटनामा उद्धार गर्न सहज होस भनेर नमुना अभ्यास गरिएको जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार विपत् प्रतिकार्य योजना अन्तर्गत कृत्रिम नमुना अभ्यास भएको हो । हरेक वर्ष यस्ता नमुना अभ्यास गर्ने गरिएको छ ।

namuna-abhyas-(2)-1748613228.jpeg
नमुना अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रहरीको सहभागिता रहेको थियो । कार्यक्रममा बाँफिकाेट गाउँपालिका अध्यक्ष जनककुमार बाँठा, प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी, चण्डी दल गणका गणपति प्रमुख सेनानी शरद थापा, जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रमेश विष्ट, सशस्त्र प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मदन धानुक, प्रमुख अनुसन्धान अधिकृत चिरञ्जीवी बुढा, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: शुक्रबार, जेठ १७, २०८२  १९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update