Kakhara सबैको खबर सम्पूर्ण खबर
कृष्ण सेन 'इच्छुक'को जीवनी, व्यक्तित्व, कृतित्व र प्रगतिवाद

विषय परिचयः–
कृष्ण सेन इच्छुकको जन्म वि.सं. २०१३ सालमा छिमेकी देश भारतमा भएको थियो । उनको पुख्र्यौली घर प्युठान जिल्लाको साराङकोटमा थियो । उनका परिवार त्यहाँवाट अर्घाखाँचीको जलुके गा.वि.स. ७, सातमारामा बसाइ सरेको थियो । उनका बुवा भारतीय सेनामा जागिरे थिए । बुबा भारतमा नै जागिरे भएको वेला उनको जन्म भएको हो । बुबा यामबहादुर सेन र आमा भीमकुमारी सेनको कोखबाट उनी जन्मिएका हुन् । उनको ६ बर्षसम्मको बाल्यकाल भारतका विभिन्न ठाउँमा बितेको थियो । 

इच्छुकले कक्षा १ देखि ८ कक्षासम्म दाङ जिल्लाको देउखुरीमा रहेको श्री आदर्श मा.वि.मा पढे । कक्षा ९ र १० दाङ जिल्लाकै लालमटियास्थित श्री सरस्वती हाइस्कुलमा पढे । उनले २०३२ सालमा दोस्रो श्रेणीमा एसएलसी पास गरे । एसएलसी पास गरेपछि उच्चशिक्षा पढ्ने चाहना हुँदाहुँदै गरिबीको कारण पढाइ छाडी कोइलाबासमा भएको साल्ट ट्रेडिङ्गको कार्यालयमा काम गर्न थाले । काम गर्दागर्दै उनले स्वअध्ययन गरे र भारतबाट प्राइभेट परीक्षा दिएर आइ.ए. उत्तीर्ण गरे । त्यसपछि उनले त्रिभुवन विश्वविद्यालयवाट वी.एड. परीक्षा उत्तीर्ण गरे । उनी विश्वविद्यालयमा भर्ना भएर एम.ए. अध्ययन गर्न थाले, तर जनताको पक्षमा सक्रिय भएर आन्दोलनमा लाग्दा उनले एम.ए.को पढाइ पूरा गर्न सकेनन् ।

कृष्ण सेनको विवाह २०४८ सालमा तक्मा के.सी.सँग भएको थियो र उनीहरुको कोखबाट छोरी समीक्षाको जन्म भएको थियो । जनयुद्धमा होमिएका इच्छुकको मूल हतियार जनसाहित्य लेखन थियो । उनको व्यक्तित्व त्यसैमा केन्द्रित समेत हुँदै भएको देखिन्छ । एक कुशल जनसाहित्यकार, पत्रकार र संस्कृतिकर्मीको रुपमा उनले आफूलाई आजिवन उभ्याएको देखिन्छ । 

२०३६ सालको विद्यार्थी आन्दोलनमा कृष्ण सेनलाई निरङ्कुश तानाशाही पञ्चायती व्यवस्थाको प्रशासनले गिरफ्तार ग¥यो । जेलको कालकोठरीबाट छुटेपछि उनी दाङको महेन्द्र क्याम्पसमा भर्ना भए । क्याम्पसमा पढ्दा उनी विद्यार्थी आन्दोलनमा सक्रिय भए । उनी २०३९ सालमा पुनः पक्राउ परे । त्यसवेलाको पञ्चायती निरङ्कुश शासकले उनलाई लगातार साढे ५ वर्ष जेलमा थुन्यो । उनी २०४४ सालमा मात्र जेलबाट छुटे ।

स्कुल पढ्दा देखि नै कृष्ण सेनलाई जनताको पक्षमा गरिने राजनीतिक विचार धाराले प्रभावित पारेको थियो । उनले २०३४ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । २०३७ सालदेखी दाङमा सक्रिय रुपमा विद्यार्थी आन्दोलनको नेतृत्व गरेका थिए । २०४५ मा उनी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको राष्ट्रिय सम्मेलन आयोजक समितिको केन्द्रीय संयोजक बने । २०४६ सालमा उनी कम्युनिष्ट पार्टीको राप्ती अञ्चल क्षेत्रीय व्युरोको सेक्रेटरी बने । पछि उनी संयुक्त जनमोर्चा नेपालको केन्द्रीय सदस्य बने । साथै उनी अखिल नेपाल जनसाँस्कृतिक सङ्घका अध्यक्ष, प्रगतिशील एशियाली पत्रकार सङ्घका सदस्य, जनअधिकार सरोकार अभियानका सदस्य समेत भएका थिए । 

कृष्ण सेन इच्छुकका प्रवृत्ति तथा विशेषताहरु

  • बहु प्रतिभाशाली साहित्यकार,
  • सु–विख्यात पत्रकार,
  • एक सफल संस्कृतिकर्मी,
  • जनसाहित्यमा विश्वास गर्ने राजनीतिक विचारक,
  • प्रगतिवादी–क्रान्तिकारी साहित्यकार,
  • दुःखी गरिब जनताको पक्षमा कलम चलाउने जनकवि,
  • शोषित पिडित बहुसंख्यक जनताको मुक्तिका लागि समर्पित भएर लाग्ने शसक्त मानवअधिकारवादी,
  • निरङ्कुश शासनतन्त्रको विरोध गर्ने विद्रोही कवि,
  • प्रखर मुक्ति योद्धा,
  • सामाजिक, राजनैतिक र साँस्कृतिकर्मी, 
  • माक्र्सवादद्वारा प्रतिष्ठापित द्वन्द्धात्मक ऐतिहासिक भौतिकवादी दर्शनबाट प्रभावित व्यक्तित्व,
  • परिवर्तनका पक्षधर,
  • देशभक्त समाजवाद र साम्यवादका असल प्रवक्ता,
  • राजनीति, साहित्य सिर्जना र पत्रकारिता त्रिवेणी,
  • कृतिहरुमा युगवोध, समाजवोध र जीवनवोधको राप र ताप भेटिनु,
  • जीवन भोगाइ र अनुभूतिहरु साहित्यका बलिया विषयवस्तुहरु हुनु,
  • आशा भरोसा र विश्वासका भावहरुको गहिरो चिन्तन कृतिहरुमा देखा पर्नु,
  • वैचारिक दृष्टिले माओवादी भएतापनि हतियारधारी नभई कलम जिवि कुशल श्रेष्ठा,
  • समाजवादी यथार्थवादी लेखनमा जोड,
  • जनता राष्ट्रको सुख ऐश्वर्यपूर्ण भविष्यको खोजीमा हिडेका अथक यात्री,
  • सर्वाहारा व्यक्तिको विजय वा विजका लागि बलिदन नै मुख्य आदर्श हो भन्न वर्गीय चिन्चक,
  • समाज परिवर्तनका पक्षधर,
  • क्रान्तिकारी चेत भएका आदर्शवान व्यक्तित्व,
  • जनपक्षीय पत्रकारितामा जोड,
  • एक सौन्दर्य चिन्चक ।

कृष्ण सेन इच्छुकका मुख्य कृतिहरु
१. शोकाञ्जली (२०४८) खण्ड काव्य
२. इतिहासको यस घडीमा (२०५६)
इतिहासको यस घडीमा कविता संग्रहभित्र निम्न कविताहरु संकलित रहेका छन्:

पहिलो खण्ड
१. त्यो प्यारो प्यारो पहाडी गाउँको नाम थवाङ हो  २. आइती ३. प्रिय कमरेड ४. यो घामपनि रापिएर तातो तातो छ  ५. लाहुरे ६. प्यालेस्टीनी मन्त्रीहरूको नाममा ७. तिमी र तिम्रो पसिना ८. जनताको ढाल या बैरीको अचानो ९. बेन्जामिन मोलाइसको सम्झनामा १०. झुल्के घामका राता किरणहरू ११. कविसँग १२. काठमाडौं मेरा देशको राजधानी १३. कान्छी, भट्टि र देश १४. इतिहासको यस घडीमा १५. जेल १६. भाउजू १७. बन्दी, सुगा र उन्मुक्तिको चाहना १८. बहिनीको सम्झनामा १९. हात लाग्यो शून्य २०. बम्र्झिया २१. दार्बोटको जङ्गलमा २२. घोमपाल २३. सेतु जैसीको घर २४. तिम्रा युद्ध र बन्दुक हरूका बिरुद्ध २५. पुर्खे सुनारकी आमा २६. यक्ष–प्रश्न २७. सलाम जेलबाङ २८. गोचाली २९. सिम्ठारो धान ३०. बन्दी छोराको पत्र ३१. प्रतिबन्ध । 

दोस्रो खण्ड 
१. माछो–माछो भ्यागुतो २. नवजात छोरीसँग ३. काले ४. बालबन्दी मिर्ची ५. प्यारो मधेशप्रति ६. तिम्रो र हाम्रो संसार ७. एउटा गाउँलेको डायरी ८. पोखरी र कारागार ९. जेरुसलम १०. यात्रमा हिँड्दा हिँड्दै ११. सिंहदरबारअघि नारा लाइरहेकी फूलमति १२. पिपलको बोट १३. कारागारको छतमाथि चढेर १४ अजम्वरी सपना १५. मेरी छोरी १६. कैदी १७. दिदी शान्तालाई १८. कारागारको छतमाथि चढेर १९. कमैया दुःखीरामलाई प्रश्न २०. अस्वीकार २१. एउटा गाउँलेको डायरी २२. चिनियाँ कवि चेङ च्हूप्रति २३. जेरुसलम २४. आदिबासी दिबस र भिखारिंदास सदा २५. कोशी टप्पु २६. अजम्वरी सपना २७. आङसान सु कि २८. यात्रामा हिँड्दा–हिँड्दै २९. म अहिले निराश छैन ३०. मेरो देशको शिशु प्रजातन्त्र ३१. भविष्य ३२. रोगी देश ३३. उत्तरतिर ३४. यस क्षण ३५. लालमटियाको सम्झना ३६. प्युठान म पनि तिमीसँगै छु ३७. कसरी भनूँ ३८. सहिद 

तेस्रो खण्ड 
१ भोलिप्रति २. एउटा लाहुरेको घरफर्कने अठोट ३ नयाँ साल, समयको हस्ताक्षर ४. शुभकामना ५. मेरो पश्चातापपछिका केही सुस्केराहरू ६. हामी विश्वस्त छौं ७. बाध्यता ८. तिमी ९. बेन्जामिन मोलाइसको फाँसीमा १०. पर्खालभत्रिबाट तिमीलाई सम्झँदा ।
३. बन्दी र चन्द्रागिरी (२०५८) लामो कविता
४. पर्खाल भित्रका बन्द आवाजहरु (अप्रकाशित)

कृष्ण सेन इच्छुकका सम्बन्धमा व्यक्त गरिएका विचारहरुः
कृष्ण सेन इच्छुक बहुप्रतिभाशाली व्यक्ति थिए । उनी नेपाली दुःखी गरिब जनताको पक्षमा कलम  चलाउने जनकवि पनि थिए । उनी शोषित, पीडित, बहुसङ्ख्यक जनताको मुक्तिका लागि समर्पित भएर लाग्ने पत्रकार, संस्कृतिकर्मी, राजनीतिक विचारक तथा सशक्त मानवअधिकारबादी थिए । जनताको पक्षमा लाग्ने कृष्ण सेन  लेखक, पत्रकार, मानवअधिकारबादी र मुक्तियोद्धाको भूमिकालाई निरङकुश शासनतन्त्रले देख्न सकेन । परिणामस्वरुप पटक–पटक गरी दशवर्ष सम्म उनलाई जेलमा यातनापूर्वक थुनियो र अन्त्यमा सेनलाई २०५९ साल जेष्ठ ६ गतेका दिन गिरफ्तार गरी महेन्द्र पुलिस क्लवको हिरासतमा अमानविय ढङ्गले यातना दिएर २०५९ जेष्ठ १३ गते हत्या गरियो । ४६ वर्षको जीवनमा देश र जनताका लागि बिर्सन नसक्ने गरी गुण लगाएर उनी मरे । तर उनको विचार, क्रान्तिचेत, विद्रोह, जनताप्रतिको लगाव अविस्मरणीय नै छ । – (ratopati.com)  

  • आफ्नो समग्रतामा कविता भनेको रागात्मक, लयवद्ध र बिम्बमय हो । कविता आफ्नै विशिष्ट अन्र्तवस्तु र रुपको एकत्वमा संरचित हुन्छ । कवि इच्छुकका कविताहरुले अन्तरवस्तु र रुपको एकत्वको मान्यतालाई राम्रोसँग संवरण गरेका छन् ।  कविताको मूल तत्व हुन – भाषा, लयविधान, भावविधान, विचार पक्ष, बिम्ब प्रतीक तथा अलङ्कार योजना र शिल्पचेतना । इच्छुकका कविताहरुमा कविताहरुको यी उपाङ्गहरुको विन्यास राम्रोसँग भएको पाइन्छ । इच्छुकका रचनाहरुमा संवेदात्मक उर्जा, अनुभुतिको उद्धेलन र भावात्मक उच्छलनको प्रचुरताको साथै विचारको गहिराई र वर्गचेतनाको तीक्ष्णता समेत पाइन्छ । – (चैतन्य, इच्छुक स्मृति ग्रन्थ,  पृष्ठ ५३)
  • इच्छुकले आफ्ना कवितामा जुन उद्धात्त भावगत अन्तर्वस्तुको अभिव्यक्ति गरेका   छन् । त्यसले विशिष्ट कविता संरचना प्राप्त गर्न सकेकै कारण कविताको रुपमा त्यो अन्तर्वस्तु विशिष्ट र शक्तिशाली बन्न सकेको हो । यद्धपी संरचना मात्र आफैमा प्रधान पक्ष होइन, तर सुन्दर बस्तु वा भाव विधानका लागि सुन्दर संरचनासँगको संश्लेषण पनि त्यतिकै आवश्यक हुन्छ । यसो भएकोले इच्छुकको कवित्वले विशिष्ट उचाइ प्राप्त गर्न सकेको हो ।  – (डा. ताराकान्त पाण्डे, इच्छुक स्मृति ग्रन्थ, पृष्ठ ५७) 
  • आफूले लिएको बिषयवस्तुलाई नजिकैवाट अनुभूत गर्नु इच्छुकको मान्यता हो । स्थानीय रङ्ग, भूगोल र प्रकृतिलाई विचारसित घोलेर मानवीकरण गरी नवीन बिम्ब र प्रतीकमार्फत नवीन आदर्शको उद्बोधन गर्नु हो । जनताबाट लिएर जनतालाई कसरी दिनुपर्दछ, त्यो इच्छुकको कलमलाई थाह छ । इच्छुकका कविताहरु सरल र सहज छन् । हृदयस्पर्शी र कमला छन् । ती गीत झैं लयात्मक छन् र विचारमा इस्पातिला छन् । समसामयिक चेतनाका प्रवक्ता इच्छुकका कविता आफन्त प्रियजनका लागि आँखा हुन्, औषधी हुन र दुश्मनहरुका लागि छातिभित्रसम्म भेदन गर्ने छुरी हुन् । – (डा. ऋषिराज बराल, बन्दी रचन्द्रागिरी) 
  • इच्छुकका कविता जनयुद्ध वर्ग संघर्ष तथा उच्च लक्ष्यका वीच रहेको एकात्मकताको विशिष्ट अभिव्यक्ति हुन् । उनका कवितामा आफ्ना समयका शसक्त लयात्मक दस्तावेज हुन् र  तिनले जनताको जीवनको सत्कामना र प्राप्तीका निम्ती गरिने महत्तम संघर्षसँग गाँसीई संघर्षकै विशिष्ट रुप क्रिया र यसलाई बुझाउने शब्द र भाव संकेतका माध्यमबाट सर्वहारा वर्गीय चेतना र तत्जन्य संघर्षलाई अभिव्यक्ति दिनु इच्छुकका रचनाको उद्धेश्य हो । – (डा. जगदिशचन्द्र भण्डारी, इच्छुक स्मृति ग्रन्थ, पृष्ठ ६८) 
  • सेन समकालिन प्रगतिवादी स्रष्टा हुन् । क्रान्तिका गायक कवि हुन् । युगचेतनाको सञ्चार कवितावाट गर्न चाहने विचार, निष्ठा र आन्दोलनका कवि हुन् । वर्गचेतना, वर्गप्रेम, वर्गघृणा, वर्गमुक्तिको शास्वत अभिव्यक्ति सेनका कविताहरुको मूल नैतिक सन्देश हो । उनले समाजवादी, यथार्थवादी नैतिक मूल्य र संवेदनालाई कवितामा अविभूत गरेका छन् । – (ईश्वरचन्द्र ज्ञवाली, इच्छुक स्मृति ग्रन्थ, पृष्ठ ८१)
  • अभिव्यक्तिको जोखिम मोल्ने कवि हुन इच्छुक । भन्न मन लागेको कुरा भन्दै नभन्ने कविता लेख्ने कवि मध्येमा पर्दैनन् उनी । निरर्थक बाँच्नुभन्दा सार्थक मर्नु उचित सम्झने सेन मृत्युलाई पहिले स्वीकारेर क्रान्तिमा होमिएका थिए । यही अर्थमा अभिव्यक्तिको  जोखिम पनि उठाएका थिए । – (सुधा त्रिपाठी, इच्छुक स्मृति ग्रन्थ, पृष्ठ १०१) 
  • इच्छुक निडर र शत्रुका सामु कहिले नझुक्ने क्रान्तिकारी योद्धा, महान जनयुद्धले जन्माएका असल स्रष्टा इच्छुकले युद्धको बिजय र सुन्दर भविष्यको सपनालाई नजिकबाटै ठम्याउनु भएको थियो । जनताको बिजयलाई देख्न सक्ने इच्छुकले लेलिन भनेकै स्रष्टाहरुले सपना देख्न सक्नुपर्छ भन्ने मान्यतालाई आत्मसात गर्ने कवि हुनुहुन्छ । – (रमेशप्रशाद भट्टराई, इच्छुक स्मृति ग्रन्थ, पृष्ठ ११२)
  • कृष्ण सेन इच्छुक नेपाली साहित्यमा प्रगतिवादी कविका रुपमा अत्यन्त सुपरिचित व्यक्तित्व हुन् । नेपालको साहित्यिक, साँस्कृतिक र पत्रकारिताको जगतमा पनि उनी सुविख्यात व्यक्ति हुन् । उनको सपना, आदर्श, मूल्य र मान्यताको अनुसरण गर्ने र गर्न खोज्ने व्यक्ति र व्यक्तित्व आजको नेपाली समाजमा भेटिन्न, भेटीएका छन् ? – (डा. नन्दीश अधिकारी, इच्छुक स्मृति ग्रन्थ, पृष्ठ ११४)
  • कृष्ण सेन इच्छुक नेपाली क्रान्तिकारी आन्दोलनका योद्धा, साँस्कृतिक आन्दोलनको शिखरपुरुष अर्थात आस्थाको धरोहर व्यक्तित्व हुन् । पातलो शरिर, ठिक्क अग्लो कद्, गोरो वर्ण, हिस्सी परेको अनुहार, मायाालाग्दो बोलीवचन, लोभलाग्दो व्यवहार, अनि उच्च, उदात्त, ओजस्वी विचारलले युक्त संस्कृतिकर्मी । विचार र व्यवहारको सम्यक मिलन खोज्दै सुन्दर भविष्यको सुन्दर जीवनलाई पछ्याउन उद्धत सौन्दर्य प्रेमी व्यक्तित्व । कार्यकुशलता, शिष्टता, मर्यादा एवम् आस्थाको धरोहर शालीन व्यक्तित्व, व्यवहारमा लचकता, विचारमा दृढता, वोलाइमा शिष्टता, प्रस्तुतिमा नम्रता र चिन्तनमा बस्तुनिष्ठताले ओतप्रोत अनुकरणीय व्यक्तित्व । अझ निचोड निकालेर भन्नुपर्दा प्रतिभावान कवि, क्षमतावान पत्रकार, निष्ठावान राजनीतिज्ञ अनि अमर सहिद, प्यारो मित्र आदरणीय अभिभावक अर्थात कृष्ण सेन इच्छुक । – (डा. गोपीचन्द्र पौडेल, इच्छुक स्मृति ग्रन्थ, पृष्ठ १३३) 
  • बन्दी र चन्द्रगिरी काव्य प्रगतिवादी धाराका सशक्त कवि कृष्ण सेन इच्छुकद्धारा लेखिएको समाजवादी अन्तर्वस्तुमा आधारित काव्य हो । यस काव्यमा शोषित, उत्पीडित, श्रमजिवी सर्वहारा वर्गको प्रतिनिधिमूलक म पात्र मार्फत प्रतिक्रियावादी बनीसकेको संसदीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रको  कुरुप पक्षको चित्रण गरिएको छ । प्रजातन्त्र भनिने व्यवस्थामा पनि देश र जनताका पक्षमा आवाज उठाउनेहरुलाई झुठो आरोपमा जेल हाली यातना दिने, आतङ्ककारी घोषित गर्ने, क्रुरतापूर्वक आतंकवादी ढंगले जनताको हत्या गगर्ने प्रतिक्रियावादी कुरुप रुपको चित्रण गरिएको छ । प्रजातन्त्र हाँडीगाउँको जात्रा जस्तो भएको, चुनाव नामको मात्र भएको, नेताहरुले फोस्रा आश्वासन बाँड्ने गरेको, पैंसाले जनमत र जुलुस किन्ने गरेको यथार्थको चित्रण गर्दै प्रजातन्त्र लेलिनले भनेझैं धनिलाई स्वर्ग र गरिबलाई धोका र भ्रम भएको भाव उद्बोधन गरिएको छ । नेपाली समाजको यस्तै कुरुप यथार्थलाई बदल्न मुक्तिकामी जनताद्धारा गरिएको जनयुद्ध, त्याग, साहस, सौर्य वीरता, सहादतको महिमागान गाएको छ । यसका साथै काव्यमा निखर साम्राज्यवादी आतंक, सामन्ती र अर्धसामन्ती एवम् पुँजीवादी व्यवस्थाका प्रतिक्रियावादी चरित्र, शोषण, दमन, उत्पीडन, आततायी आदिको जीवन्त र भावात्मक चित्रण गर्दै श्रमजिवी सर्वहारा वर्गको पक्षमाम क्रान्तिकारी आदर्शको प्रस्तुति गरिएको छ । बर्गविहिन साम्यवादी समाजमा नै मानवव जातिको वास्तविक कल्याण हुने भएकोले वर्तमान कुरुप सामाजिक व्यवस्थालाई बदलेर साम्यवादी समाज निर्माण गर्नुपर्ने भाव शसक्त ढङ्गले उद्बोधन गरिएको छ । बन्दी र चन्द्रागिरी काव्यमा  प्रस्तुत  भएका यिनै शाब्दिक, भाववात्मक वा गुणात्मक तथ्यलाई अध्ययन गर्दा काव्यमा माक्र्सवादी सौन्दर्य अनुरुपका समाजका कुरुप र सुन्दर पक्षको चित्रण, वर्गीय पक्षधरता तथा सर्वहारा वर्गीय मानवतावादका साथै क्रान्तिकारी आशावाद तथा नव निर्माणको सङ्कल्प जस्ता वैशिष्ट अत्यन्त जीवन्त र सघन रुपमा प्रस्तुत भएकोले प्रस्तुत काव्य माक्र्सवादी सौन्दर्यको पुञ्ज नै बन्न पुगेको छ । अतः यो काव्य प्रगतिवादी नेपाली साहित्यका क्षेत्रमा एउटा विशिष्ट प्राप्ती र माक्र्सवादी सौन्दर्यका कसीमा अत्यन्त सुन्दर र उच्चतम उपलव्धी हो । (खुमबहादुर  खड्का, बन्दी र चन्द्रागिरी काव्यमा माक्र्सवादी सौन्दर्य  (जर्नल) – निष्कर्ष) 
  • वस्तुतः सामाजिक अर्थ व्यवस्थाले नै समाजमा वर्गीय विभाजन गर्ने हुनाले साहित्यिक क्षेत्र पनि पूर्णतः प्रभावित र नियन्त्रित भएको हुन्छ । समाजका व्यक्तिहरुको वर्ग आर्थिक दृष्टिले दुई किसिमको हुन्छ । शोषक वर्ग र शोषित वर्ग । शोषक वर्ग उत्पादनको मालिक नभएर साधन हुने भएकोले सामाजिक अर्थ व्यवस्था उसको हातमा रहँदैन । जसले गर्दा शोषकहरुको दास वा नोकरको रुपमा उसको भूमिका हुन्छ । यसै आर्थिक स्वरुपको वर्गीय विषमताले सामाजिक सत्ता र अधिकार शोषक वर्गकै अधिनमा हुने हुँदा समाजमा साहित्यकको भूमिका पनि शोषक र सामन्ती वर्गकै मनोरञ्जनतर्फ निर्देशित भएको हुन्छ । यसरी पुँजीवादी अर्थ व्यवस्थाले जकडिएको समाजमा साहित्य पनि शोषक वर्गकै लागि निर्मित हुने हुनाले वर्गनिरपेक्ष साहित्यको वर्तमान परिस्थितिमा  कल्पना पनि गर्न सकिदैन । वर्गविहिन समाजको निर्माण भएपछि मात्र वर्गनिरपेक्ष साहित्यको सम्भावना हुने हुँदा सिमित शोषक सामन्त वर्गका विपरीत  व्यापक  जनसंख्या भएको शोषित–पीडित वर्गको सामूहिक भावना अभिव्यक्त हुने साहित्यिक लक्ष्य प्राप्तिलाई मूल ध्येय बनाइनुपर्छ । द्धन्दात्मक भौतिकतावादीहरुका विचारमा सामूहिक तथा सामाजिक विषयवस्तुलाई यथार्थ अभिव्यक्ति दिने साहित्य नै चिरस्थायी साहित्य हो र यसको उद्धेश्य नविन सामाजिक संरचनाका लागि क्रान्तिकारी उत्प्रेरणा र उत्साह दिलाउनु हो । साहित्यमा केवल सुन्दर पक्षको मात्र उद्घाटन गर्नु भनेको पुँजीवादी प्रवृत्तिको पक्षपोषण गर्नु हो । त्यसैले काव्य वा साहित्यमा आनन्दको उद्घाटनलाई साधन बनाइनुपर्छ, तर साधनवस्तु बनाइनु हुँदैन । साथै निम्नभन्दा निम्नतर तथा कलात्त्मकताहीन कुराको पनि दृढात्मक चित्रण गर्नुपर्दछ । ऐतिहासिक द्धनदात्मक भौतिकवाद वा माक्र्सवादका उपयुक्त विविध सामाजिक, भौतिक र साहित्यिक दृष्टिकोण, मान्यता, प्रवृत्ति र आदर्शहरुलाई पछ्याएर साहित्य रचना र मूल्याङ्कन गर्न प्रेरित गर्ने साहित्यिक सिद्धान्तलाई नै प्रगतिवाद भनिन्छ । – (भण्डारी, पारशमणी र पौडेल माधवप्रसाद, साहित्यशास्त्र र नेपाली समालोचना, पृष्ठ २२२–२२३)
  • ऋषिराज बरालले साहित्यमा प्रगतिवाद राजनीतिक क्षेत्रमा अतिरिक्त मूल्य सिद्धान्त, कला साहित्यिक क्षेत्रमा प्रगतिवाद र सौन्दर्यशास्त्रको क्षेत्रमा माक्र्सवादी सौन्दर्यशास्त्रका रुपमा स्वीकार गरिने माक्र्स, एङ्गेल्स, लेलिन आदिले प्रतिपादन गरेको र विकसित भएको दर्शनको विशिष्ट धारासँग सम्बन्धित दृष्टिकोण हो । –   (बराल, २०४५, ९४०)
  • सर्वहारा वर्गमा पनि धेरै मान्छेले निम्न पुँजीपति वर्गको चिन्तन र विचारलाई ग्रहण   गर्दछन् । किसान तथा शहरी निम्न पुँजीपति वर्गका मान्छेले पनि पिछडिएको विचार पालेका हुन्छन् । संघर्षका दौरानमा यिनीहरु बोझ हुनसक्छन् । – (माओत्सेतुङ, सन् १९८१ः २७२)
  • विचारको वास्तविक सिर्जनकर्ता सक्रिय मानिस नै हो । सबै विचारधारा तथा चेतना पनि बस्तुगत जगतका उपजहरु हुन् । यसको इतिहास र विकास भिन्नै हुँदैन । तर मानिसले भौतिक संसर्गको विकास गर्दा वास्तविक अस्तित्वका साथ आफ्नो चिन्तन र चिन्तन परिणाम पनि बदल्यो । – (माक्र्स, सन् १९८१ : ५०) 
  • भाषा सामाजिक वातावरणको एक अंग हो । यसले विचारलाई बोब्छ र बिनिमयको माध्यम बन्दछ । राजनीतिक, क्रान्ति र संरचना साहित्यका आधारभूत सामग्री हुन् । शैली शसक्त मांसपेशीय संरचना हो । – (माक्र्स, सन् १९८१: १२९)
  • प्रगतिवादलाई विशुद्ध प्रगतिवाद र स्वच्छन्दतावादी प्रगतिवाद गरी दुई वर्गमा विभाजन गरेर हेर्ने प्रचलन धेरै हदसम्म रहेको छ । स्वच्छन्दतावादी हुँदा हुँदै पनि  त्यस प्रवृत्ति भित्र माक्र्सवादी क्रान्तिकारी दृष्टिकोणलाई समिश्रण गरी प्रस्तुत हुने कवि लेखकहरुलाई विशुद्ध प्रगतिवादी भन्ने चलन छ । नेपालका सन्दर्भमा भन्ने हो भने युगवाणी पत्रिकाको प्रकाशनकालका लक्ष्मी प्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित गोपालप्रसाद रिमाललाई स्वच्छन्दतावादी–प्रगतिवादी भन्न सकिन्छ भने भूपि शेरचन, कृष्णचन्द्र सिंह प्रधान आनन्द देव भट्ट, मोदनाथ प्रश्रित, श्यामप्रसाद शर्मा, डि.पी. अधिकारी, पारिजातलाई उनका कृतिहरुका आधारमा प्रगतिवादी भन्न सक्ने स्थिति छ । – (पारशमणी भण्डारी र माधव, पौडेल साहित्यशास्त्र र नेपाली समालोचना, पृष्ठ २२७)
  • ध्रुवराज ढकाल (२०७०) ले विष्णु भण्डारीको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन शीर्षकको शोधपत्रमा भण्डारीको जीवनी, उनको व्यक्तित्व र कृतित्वको विशद् व्याख्या गरेका छन् । भण्डारी मूलतः परिवर्तनको पक्षमा लेखिरहने स्रष्टा   हुन् । शोषित पीडित जनताको पक्षमा भण्डारीको कलम प्रगतिवाादी धारमा केन्द्रित छ । उनका कविता कृतिहरुमा सामन्ती राज्य व्यवस्था प्रति खरो रुपमा प्रस्तुत हुँदै आएको हक अधिकारको निम्ति संघर्ष गर्ने उत्प्रेरणा जगाएको छ । माओवादी जनयुद्धकालिन समयको जनताको त्याग, बलिदान र संघर्षलाई उत्कर्ष महाकाव्यमा प्रतिविम्बन गर्दै विषयवस्तुको उठान, त्यसको पुष्टि र समापनको सन्तुलन कायम राख्न सफल छन् । माओवादी जनयुद्धकालिन समयमा राज्यद्धारा वेपत्ता पारिएको यथार्थताको प्रकटीकरणमा अडिएका जीवन कथाहरुलाई प्रस्तुत गरिएको छ । नेपालको इतिहासमा १९ दिन सम्म जनताले सामन्ती राज्यसत्ता परिवर्तनका लागि गरिएको जनआन्दोलनको दैन्निन्यहरुको कलात्मक प्रस्तुति देश जागेको बेला कविता संग्रहका कविताले गरेको भाव, विचार र ऐतिहासिक दस्तावेजलाई प्रस्तुत गरिएको छ । देश गरिब, शोषण, रोग, भोक, अशिक्षा, बेरोजगारी जस्तो समस्याबाट आक्रान्त बनिरहेको बेलामा राजनीतिक तथा सामाजिक विकृति र विसंगति आदिवाट आक्रान्त भई छट्पटाइरहेको अबस्थामा उनका कविताले सामाजिक रुपान्तरणका लागि आवाज उठाएका कारण उनमा प्रतिवादी चेतना रहेको प्रष्ट हुन्छ । द्धन्द्धरत नेपाली समाज, सर्वहारा मानवता, आमूल रुपान्तरण एवम् मुक्तिको भाविन्यास एवम् प्रवन्धन गरिएको उनको उत्सर्ग महाकाव्यले युद्ध चेतनालाई देखाउन सफल भएको छ । नेपाली राजनीतिमा देखिएको विद्रुपताको चित्रण घाइते ह्विलचेयरमा गरिएको छ । क्रान्ति गरेको पार्टी सत्तामा पुग्नु, त्यसले जनताका आधारभूत आवश्यकता पूरा गर्न नसकेको र दलहरु मिलेर बेलैमा संविधान दिन नसकेको अवस्थामा सिर्जित परिस्थितिलाई यस संग्रहका कविताले समेटेको निष्कर्ष निकालिएको छ ।

जनपक्षीय पत्रकारिता र साहित्यका आदर्श नायक कृष्ण सेन ‘इच्छुक’
शोषित पीडित बहुसंख्यक जनताको मुक्तिका लागि समर्पित भएर लाग्ने राजनीतिक विचारक तथा आदर्शवान् व्यक्तित्व इच्छुक आफ्नो वर्ग र विचारप्रति सधैँ समर्पित थिए । 
सेनको पुख्र्यौली थलो अर्घाखाँची जिल्लाको जलुके हो । उनले आफ्नो प्रारम्भिक शिक्षा दाङको लालमटियामा लिए । सामान्य लाहुरे परिवारमा जन्मेका इच्छुकले आफ्नो जनसाहित्य यात्राको थालनी दाङबाट प्रकाशित हुने ‘युगबोध’ समाचारपत्रबाट गरेका थिए । बहुआयामिक व्यक्तित्वका धनी इच्छुक एक जुझारु जनपत्रकार थिए । प्रगतिशील साहित्यको क्षेत्रमा इच्छुकले छुट्टै छाप समाजलाई छाडेका छन् । उनको साहित्यिक रचनाले तत्कालीन नेपाली समाजको मथिंगल हल्लाइदिएको थियो भने शासकको निदहराम गरिदिएको थियो । 

दाङको जेलमा बस्दा विद्यार्थी नेता मित्रपणि आचार्यको हत्या भएपछि उनकै सम्मान र सम्झनामा इच्छुकले ‘शोकाञ्जलि’ काव्य लेखे, जुन २०४८ सालमा उनको पहिलो कृतिको रूपमा प्रकाशित भयो । इतिहासको यस घडीमा (२०५६), बन्दी र चन्द्रागिरी (२०५८) आदि इच्छुकका कृति चर्चित छन् । उनले लेखेको ‘पर्खालभित्रका बन्द आवाजहरू’ प्रकाशनमा आइसकेको छैन । 

जुझारु क्रान्तिकारी योद्धा कृष्णसेन इच्छुक मूलतः नेपाली प्रगतिवादी काव्य फाँटमा आफ्नो छुट्टै स्थान निर्माण गर्न सफल भए । निरन्तर जनताका पक्षमा कलम चलाउने इच्छुकको पत्रकारिताबाट त्यति बेलाका शासकको मन–मुटु हल्लिन्थ्यो भने जनताले ऊर्जा प्राप्त गरेको महसुस गर्थे । 

क्रान्तिकारी योद्धा इच्छुकको भूमिकालाई तत्कालीन निरङ्कुश शासकले रुचाएनन् । इच्छुकलाई तत्कालीन सत्ताले पटक–पटक गरी दश वर्षसम्म जेलमा यातनापूर्वक थुन्यो । अन्त्यमा जनयुद्धकैबिचमा इच्छुकलाई २०५९ जेठ ६ गतेका दिन गिरफ्तार गरी काठमाडौँको भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबको हिरासतमा राखिएको थियो । त्यहीँ अमानवीय ढङ्गले निर्मम यातना दिएर २०५९ जेठ १३ गते उनको हत्या गरियो ।
यसरी इच्छुकले ४६ वर्षको उमेरमा देश र जनताको मुक्तिका लागि आफ्नो जीवन आहुति दिए तर कहिल्यै झुकेनन् । प्रगतिवादी साहित्य र जनपत्रकारिताका माध्यमबाट समाजको आमूूल परिवर्तन गर्नका लागि उनले पु¥याएको योगदान अतुलनीय छ । 

उनको त्यागबाट आजको नेपाली समाजले धेरै कुरा सिक्न जरुरी छ । अझ आफूलाई जनपक्षीय राजनीतिज्ञ भन्नेहरूले उनको आदर्शलाई व्यवहारमा लागु गर्न सक्नुपर्छ । उनको जस्तै सबैले त्याग गर्न सके आज पनि नेपाली समाजलाई रूपान्तरण गर्ने समय लाग्दैन । 

उनले आफ्नो जीवनकालभरि जहिल्यै त्यागको प्रतीकका रूपमा भूमिका निर्वाह गरे । उनले आफ्नो व्यक्तिगत लाभ, प्रतिष्ठा र सुविधामातर्फ कहिल्यै ध्यान दिएनन् । सबै कुरा अरूलाई दिनुपर्छ, मलाई त छँदै छ नि भन्ने महान् भावना हामीले लिन जरुरी छ । 

इच्छुक आम जनपक्षीय पत्रकारिताको मार्गदर्शक थिए । नेपाली जनपक्षीय पत्रकारिताका एक आदर्श, जनयुद्धका आदर्श नायक इच्छुकका योगदानलाई थप स्थापित गर्न आवश्यक छ । इच्छुकका वीरता, बलिदान र आदर्श नायकत्वबाट धेरै कुरा सिक्दै जीवन व्यवहारमा लागु गर्न सक्नुपर्छ । अनि मात्र इच्छुकप्रतिको सच्चा सम्मान हुन जान्छ । समाज रूपान्तरण अभियानमा निरन्तर खट्न सक्ने इच्छुक आस्था र निष्ठामा सतिसाल थिए । उनले जनपक्षीय पत्रकारिताको क्षेत्रमा निर्वाह गरेको ऐतिहासिक भूमिका र देखाएको बाटोलाई आजको सन्दर्भमा जनपक्षीय पत्रकारले अनुसरण गर्न भुल्नु हुँदैन । 

विचार र व्यवहारको तादात्म्यता, उच्च आदर्शयुक्त जनपक्षीय जीवनशैली, आस्था र निष्ठाप्रति समर्पित जीवन नै इच्छुकबाट सिक्नुपर्ने विषयवस्तु हुन् । हामी जे भन्छौँ, त्यही जीवन व्यवहारमा लागु गर्न सक्नु नै इच्छुकप्रतिको सच्चा सम्मान हुनेछ । देशको मुक्ति र जनताको पक्षमा कमल चलाउँदा जेलनेल हुँदै अन्ततः जीवन नै बलिदान गर्न तयार हुने इच्छुकको जीवनबाट त्याग र समर्पण र जनपक्षीय पत्रकारिताको मूल्य सिक्न सक्नुपर्छ । 

कतिपय मान्छे मरेर पनि सधैँ बाँचिरहेका छन् । हो, कृष्ण सेन ‘इच्छुक’ यस्तै एउटा महान् मान्छे थिए, जो मरेर पनि सधैँ बाँचिरहेका छन् । जनपक्षीय पत्रकारिता, प्रगतिवादी साहित्य र राजनीतिक क्षमताको एकीकृत व्यक्तित्व इच्छुक आफ्नो आस्था र विचारप्रति सधैँ अडिग थिए । समाजमा हुने अन्याय, अत्याचारविरुद्ध कलममार्फत गर्जने जनपक्षीय पत्रकारिताका धरोहर तथा नेपाली प्रगतिवादी साहित्यका अग्रणी र आदर्श व्यक्तित्व ‘इच्छुक’ प्रति हार्दिक श्रद्धासुमन !
  
सन्दर्भ सामग्री
–    के.सी., हस्तबहादुर (२०७०), क्रान्ति र विद्रोह, मध्यपुर प्रेस काठमाडौं । 
–    खड्का, खुमबहादुर (२०१८), बन्दी र चन्दद्रागिरी काव्यमा माक्र्सवादी सौन्दर्य
(NNUTA) सुर्खेत । 
–    गौतम, दिपक (२०६४), समकालिन प्रगतिवादी नेपाली कथाका प्रवृत्ति, प्रोमोशन प्रिन्टर्स र पव्लिसिङ सपोर्टस, काठमााडौं ।
–    ढकाल, ध्रुवराज (२०७०), विष्णु भण्डारीको जीवनी, व्यक्तित्व र कृतित्वका अध्ययन शोधपत्र, केन्द्रीय विभाग, मानविकी तथा सामाजिक शास्त्र सङ्काय: काठमाडौं । 
–    बराल, ऋषिराज (२०५२), माक्र्सवााद र उत्तरआधुनिकतावाद, ललितपुर: साझा प्रकाशन ।
–    बैद्य, मोहन (२०६७), क्रान्ति र सिद्धान्त, काठमाडौं, विवेक सिर्जनशील प्रकाशन ।
–    भण्डारी, पारशमणि (२०७६), प्रशिक्षक लेखन तथा सम्पादन काठमाडौं: विद्यार्थी पुस्तक भण्डार । 
–    भण्डारी, पारशमणि र पौडेल माधवप्रसाद (२०६१), साहित्य शास्त्र र नेपाली सममालोचना, क्षितिज प्रकाशन, किर्तिपुर ।
–    सुवेदी, राजेन्द्र (२०६८), बन्दी र चन्द्रागिरीका कवि इच्छुक विचार, कलाका र संवेदनाको सङ्गममा भण्डारी, जगदिश चन्द्र र पाण्डेय ताराकान्त (सम्पा.) प्रतिनिधि नेपाली समालोचना, काठमाडौं: विवेक सिर्जाशील प्रकाशन । 
–    सेन, कृष्ण (२०५७), प्रतिवन्ध, इच्छुक साँस्कृतिक प्रतिष्ठान (सम्पा. २०६४) इच्छुक रचनावली, काठमाडौं: इच्छुक साँस्कृतिक प्रतिष्ठान ।
–    शर्मा, मोहनराज र लुइँटेल खगेन्द्रप्रसाद (२०६१), पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त, काठमाडौं: विद्यार्थी पुस्तक भण्डार ।
–    त्रिपाठी, वासुदेव (२०५८), पाश्चात्य समालोचनाको सैद्धान्तिक परम्परा भाग–५, काठमाडौं साझा प्रकाशन ।

२३ औँ कृष्ण सेन 'इच्छुक' स्मृति दिवसमा प्रेस सेन्टर नेपाल रुकुम पश्चिमले जेठ १३ गते मुसिकाेटमा आयाेजना गरेकाे 'कृष्ण सेन 'इच्छुक'काे स्मृति विशेष साहित्यिक कार्यक्रम'मा साहित्यकार मुकुन्दप्रसाद शर्माले प्रस्तुत गरेकाे कार्यपत्र ।

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  ०९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update