वर्षौँ देखि बन्द रहेको रुकुम पश्चिमको चौरजहारी विमानस्थल सञ्चालनमा आउने भएको छ । जिल्लाको चौरजहारी नगरपालिकामा रहेको विमानस्थल १ दशकपछि सञ्चालनमा आउने भएको हो ।
विमानस्थल २०७० सालमा स्तरोन्नति सुरु भएपछि बन्द अवस्थामा रहेको छ । २०२८ सालमा स्थापना भएको चौरजहारी विमानस्थल ४४ वर्ष पछि २०७३ मा स्तरोन्नति गरी पक्की बनाइएको थियो । विमानस्थल स्तरोन्नतिको काम सुरु भए देखि विमानस्थल बन्द अवस्थामा रहेको छ ।
विमानस्थल स्तरोन्नति भएपछि केही समय विमानस्थलमा विमान आए पनि केही समयमै बन्द भएको थियो । त्यसपछि हालसम्म विमानस्थल बन्द अवस्थामा रहेको छ । अब भने विमानस्थल सञ्चालनमा आउने भएको हो ।
रुकुम पश्चिमका प्रतिनिधि सभा सदस्य गोपाल शर्मा अनलले विमानस्थल यही वैशाख २५ गते शुक्रवार देखि पुनः सञ्चालनमा आउन लागेको जानकारी गराउनुभएको छ । यसका लागि आफूले निरन्तर पहल गरेको र विमानस्थल पुनः सञ्चालनमा ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ ।
‘वर्षौँदेखि बन्द अवस्थाको रुकुम पश्चिम भाग, जाजरकोट, सल्यान र डोल्पाको सङ्गम स्थलका रूपमा समेत रहेको चौरजहारी विमानस्थल यही वैशाख २५ गते शुक्रवारदेखि पुनः सञ्चालनमा आउने भएको छ । यसले चौरजहारीवासी तथा आसपासका क्षेत्रका नागरिकहरूको आवतजावत थप सहज हुनुका साथै सेवा सुविधामा पहुँच विस्तार हुने र आर्थिक तथा पर्यटन गतिविधिमा समेत उल्लेखनीय टेवा पुग्ने विश्वास लिएको छु,’ उहाँले फेसबुकमा लेख्नुभएको छ ।
उहाँले यो महत्त्वपूर्ण कार्यलाई सफलतापूर्वक अघि बढाउन सहयोग गर्ने नेपाल वायुसेवा निगमका निवर्तमान कार्यकारी निर्देशक अमृतमान श्रेष्ठ, वर्तमान निमित्त कार्यकारी निर्देशक जनक कालाखेति र नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक देवचन्द्रलाल कर्ण लगायतलाई धन्यवाद दिनुभएको छ ।
त्यस्तै उहाँले आगामी दिनमा यस विमानस्थलको थप स्तरोन्नति गर्दै आधुनिक र व्यवस्थित पूर्वाधारसहित विमानस्थललाई थप विकसित गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । उहाँले सेवा नियमित, सुरक्षित र दिगो हुने विश्वास समेत व्यक्त गर्नुभएको छ ।
नागरिक उड्डयन प्राधिकरणको ५ करोड ५९ लाख ४९ हजार ९ सय ५२ रुपैयाँको लागतमा विमानस्थलको धावनमार्ग कालोपत्रे गरिएको थियो ।





-1759842583.jpg)