Kakhara सबैको खबर सम्पूर्ण खबर
गुरू सहनशीलताको सागर, ज्ञानको सूर्य र नि:स्वार्थ सेवाको मूर्ति हुनुहुन्छ

आज गुरु पूर्णिमा, श्रद्धा, समर्पण र आत्मिक नमनको पवित्र दिन हो । गुरु भनेका केवल कक्षाकोठामा ज्ञान दिनुहुने व्यक्ति मात्र होइनन् । उहाँहरू जीवनका प्रत्येक मोडमा उज्यालो छर्दै हाम्रा अज्ञानका अँध्यारो पखाल्ने असल मार्ग निर्देशक हुनुहुन्छ । आमा, बुबाको काखमा अक्षर चिनाउने प्रारम्भिक स्पर्शदेखि विश्वविद्यालयको कठोर कक्षामा मूल्य र विचार बुझाउने गुरुहरूसम्म हरेक चरणमा उहाँहरू हाम्रो आत्मा छुन सक्ने उज्यालो दीप हुनुहुन्छ ।

गुरु शिष्यका लागि केवल शिक्षक नभई, सारथी, मित्र, प्रेरक र भविष्यको आधारशिला हुन्। उहाँहरूको योगदान परीक्षा पास गराउने भन्दा धेरै गहिरो हुन्छ-त्यो हृदयमा छिर्छ, सोचमा बस्छ र जीवनको दिशा परिवर्तन गर्छ ।

आज म सम्झन्छु 
“केटो केही गर्छ“ भनेर प्रशंसा गर्दै मुस्कुराउनुहुने गुरुआमाको बोली, पहिलो अक्षर चिनाइदिनुहुने शिक्षक÷शिक्षिका, अनि हरेक मोडमा सही सल्लाह दिने मेरा आदरणीय प्राध्यापकहरूलाई। उहाँहरूको हाँसो, उहाँहरूको विश्वास र समर्पण सधैँ मेरो स्मृतिमा जीवित रहनेछ ।

तर विडम्बना !
केही दिन अघि एक अनलाइन समाचारमा पढेँ एक शिक्षिकाले आफ्ना विद्यार्थीलाई शारीरिक दण्ड दिएकी रहिछन् । त्यो समाचारले मेरो आत्मा काँपियो । गुरु त डर होइन, प्रेरणाको मूर्ति हुनु पर्छ । आजभोलि गुरु पूर्णिमामा केक काट्ने, फूल चढाउने र ठुलो पार्टी गर्ने होड चल्न थालेको छ । तर साँचो श्रद्धा व्यवहारमा देखिन्छ । केक काट्दैमा गुरुको कृपा आउँदैन, शिष्यको बोली, आचरण र सम्मानजनक व्यवहारमै गुरु–शिष्य सम्बन्धको गहिरो बन्धन बस्छ ।

गुरु कुनै बाह्य सजावट होइनन्, उहाँहरू सहनशीलताको सागर, ज्ञानको सूर्य र निस्वार्थ सेवाको मूर्ति हुनुहुन्छ। उहाँहरूको मौन तपस्या, अनुशासन र मार्गदर्शन नै विद्यार्थीको सफल भविष्यको जग हो ।

अन्त्यमा, कवि यत्री देवी नेपालका अमूल्य शब्दहरू स्मरण गर्न चाहन्छु । 

“आफू जलेर धर्तीमा उज्यालो गुरु छर्छन्,
आफू गलेर माटोजस्तै मूर्ति निर्माण गर्छन्।
जसको स्नेहका सामु अरूको स्नेह व्यर्थ छ,
जसको त्याग देखेर धर्ती माथि झुक्छ।“

म यस पवित्र अवसरमा, मेरो शिक्षा यात्रामा साथ दिनुहुने सम्पूर्ण गुरुहरूलाई नमन गर्दछु । उहाँहरूकै माया, प्रेरणा र आशीर्वादले म आजको म बनेको हुँ। गुरु पूर्णिमाको पावन अवसरमा सम्पूर्ण आदरणीय गुरुजनहरूलाई  सुस्वास्थ्य, शान्ति, दीर्घायु र अनन्त सम्मानको हार्दिक शुभकामना !

लेखक: बाल अधिकार अभियन्ता तथा विद्यार्थी नेता हुनुहुन्छ । 

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  १३:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update