
रुकुम पश्चिममा पछिल्लो एक वर्षमा ९ हजार बढी स्वास्थ्य बिमित थप भएका छन् । बितेको आर्थिक वर्ष २०८१÷०८२ मा जिल्लाभरबाट ९ हजार ३ सय ४० जना स्वास्थ्य बिमित थपिएका हुन् ।
जिल्लाका ६ वटै पालिकाबाट राम्रो संख्यामा बिमित थपिएको स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालय रुकुम पश्चिमका प्रमुख कमल डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार अब यो सँगै जिल्लामा कुल बिमितको ९१ हजार नाघेको छ ।
जिल्लाभरमा कुल बिमित संख्या ९१ हजार २ सय २० पुगेको उहाँले बताउनुभयो । जिल्लामा सबै भन्दा बढी बिमित चौरजहारी नगरपालिकामा छन् । चौरजहारीमा स्वास्थ्य बिमित संख्या ३२ हजार ४ सय ४ रहेको छ ।
चौरजहारीमा अन्य स्थानीय तहहरूको तुलनामा बिमित संख्या दोब्बर बढी रहेको प्रमुख डाँगीले बताउनुभयो । उहाँका अनुसार आठबिसकोट नगरपालिकामा बिमित संख्या १६ हजार ८८ र मुसिकोट नगरपालिकामा १५ हजार ९ सय ४३ रहेको छ ।
सानीभेरी गाउँपालिकामा १५ हजार २ सय ८६ जना बिमित रहँदा बाँफिकोट गाउँपालिकामा ५ हजार ९ सय ७ र त्रिवेणी गाउँपालिकामा ५ हजार ६ सय १ जना बिमित रहेको स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
जिल्लामा ६ वटा स्वास्थ्य बिमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरू रहेका छन् । स्वास्थ्य संस्था पनि चौरजहारीमै बढी रहेका छन् । चौरजहारीमा नगर अस्पताल चिन्नेबगर, चौरजहारी अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र कोटजहारीमा स्वास्थ्य बिमितले सेवा पाइरहेका छन् ।
आठबिसकोटमा नगर अस्पताल राडी, सानीभेरीमा गाउँ अस्पताल छाटेबगर र मुसिकोटमा जिल्ला अस्पताल सल्लेमा पनि स्वास्थ्य बिमा गरेका बिरामीले उपचार सेवा पाइरहेका छन् ।
जिल्लामा स्वास्थ्य बिमितका सङ्ख्या सन्तोषजनक रहेको र यसलाई अझै बढाउने गरी स्थानीय तह सहित अन्य सरोकारवालाहरूसँग निरन्तर छलफल र समन्वय भइरहेको उहाँको भनाई छ ।
स्वास्थ्य बिमाका लागि ५ जनासम्मको परिवारले ३५ सय प्रिमियम तिरेमा एक वर्षमा १ लाख बराबरको उपचार निःशुल्क हुन्छ भने ५ जना भन्दा बढी सदस्यको हकमा प्रति सदस्य ७ सय रुपैयाँ प्रिमियम थप हुँदै जान्छ भने २० हजारका दरले उपचार सेवा पनि थप हुँदै जाने उहाँले बताउनुभयो ।।